म्याग्दीको खानीगाउँमा घरैपिच्छे बाख्रापालन !

Friday, July 7th, 2023 |

 

म्याग्दी २२ असार

लामो समय खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन गर्न थाले ।

उनले युनाइटेड अरब इमिरेटस् ९युएई०, कुवेत र मलेसियामा काम गरे । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अष्टे«लियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक सय २० बाख्रा पालेका छन् ।

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन् । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ ।

हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक १० लाख आम्दानी गरेको बताए ।

‘विदेशबाट फर्किएपछि रु। ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले’, उनले भने । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दैआएका छ । उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन् । ‘वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्य छ’, उनले भने ।

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए । ‘मेरै बाटो पछ्याएर गाउँका अरुले बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ’, उनले भने । सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उनको अनुभव छ ।

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । ‘चरनको समस्या छैन’, बाख्रापालक कृषक राजन राम्जालीले भने ।

विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ ।

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । ‘मिलेर बाख्रापालन गरेका छौँ, राम्जालीले भने ।

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन् ।

खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् ।

गाउँपालिकाले उनीहरुलाई २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए ।
स्रोत ः रासस

VIEWS: 258