दुई युवाले शुरु गरे दाङमा रहरलाग्दो स्ट्रबेरी फार्म

Friday, January 26th, 2024 |

दाङ् ११ माघ

रोल्पा र म्याग्दीका दुई युवा मिलेर दाङको घोराहीमा स्ट्रबेरीको व्यावसायिक खेती शु्रु गरेका छन् ।

घोराही उपमहानगरपालिका–१४ झिंगौरामा स्वर्गद्वारी आश्रमको करिब नौ कट्ठा जग्गा भाडामा लिएर खेती गरेका उनीहरू स्ट्रबेरी फल्न थालेपछि खुसी भएका छन्।

रोल्पाका वीरेन्द्र खड्का र म्याग्दीका बेग पुन मिलेर गरेको स्ट्रबेरी खेती हालसम्मको जिल्लाकै ठूलो क्षेत्रफलमा गरिएको व्यावसायिक खेती मानिन्छ।

‘हामीले सामाजिक सञ्जालमा राखेका फलका तस्बिरहरू देखेर व्यापारीहरूले फोन गर्न थालेका छन्,’ वीरेन्द्रले भने।

उनले एक किलो स्ट्रबेरीको आठ सय रूपैयाँमा बेच्ने गरेको बताए।

‘दिनको १५ देखि २० किलोसम्म बिक्री हुन्छ। अहिलेसम्म २ सय किलो बेचिसक्यौं,’ वीरेन्द्रले भने, ‘वैशाखसम्म नै हाम्रो उत्पादन बिक्री हुन्छ।’

यसपालि दुई हजारदेखि दुई हजार पाँच सय केजीसम्म स्ट्रबेरी फल्ने अनुमान उनीहरूको छ।

झन्डै २० लाख जतिको कारोबार गर्ने र लागत खर्च कटाएर १३ लाखसम्म बचत गर्ने उनीहरूको योजना छ।

कृषिमा आइएस्सी एजी गरेका वीरेन्द्रले विदेश जानुभन्दा पनि आफ्नै ठाउँमा केही फरक खाले कृषि व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्य राखेर स्ट्रबेरीको व्यावसायिक खेती सुरू गरेको बताउँछन्। गायक, मोडलिङ क्षेत्रमा समेत पहिचान बनाएका वीरेन्द्रले तीन वर्ष पहिले ‘दाङ एग्रोमार्ट कृषि फर्म’ दर्ता गरेका थिए।

घोराहीमै विभिन्न फलफूलका नर्सरी तथा बेर्ना तयार पारी बिक्री गर्दै आएका उनको फूलको खेती पनि छ।

वीरेन्द्रले आफूले गर्दै आएको नर्सरी उत्पादन तथा पुष्प खेतीबारे सामाजिक सञ्जाल युट्युबहरूमा पनि भिडिओ बनाउँदै आएका छन्।

खेतीबारे वीरेन्द्रको भिडिओ युट्युबमा देखेपछि प्रभावित भएर म्याग्दीका बेगम पुन सम्पर्कमा आएका थिए।

‘यो वर्षदेखि केही नयाँ गरौं भन्ने सोचले सामाजिक सञ्जालमार्फत् सम्पर्कमा आएका साथीसँग मिलेर हामीले स्ट्रबेरीको व्यावसायिक खेती सुरू गरेका हौं,’ वीरेन्द्रले भने, ‘हाम्रो मेहनत फल्दै छ र बजार पनि राम्रै छ, यसबाट हामी उत्साहित छौं।’

कृषि अध्ययन गरेका युवाले आफ्नै गाउँ(ठाउँमा आफैंले केही गरेर देखाउन सक्नु भनेको आफूलाई प्रमाणित गर्नु सरह हुने वीरेन्द्र ठान्छन् ।

‘मैले एक्लै गर्दै आएको नर्सरी उत्पादन तथा पुष्प खेती छँदै छ,’ उनले भने, ‘दुबैको सल्लाहमा मिलेर स्ट्रबेरी खेती गरेका हौं र यसले हामीलाई थप प्रमाणित गर्नेछ।’

नौ कठ्ठा क्षेत्रफलको जग्गामा झन्डै दुई महिना पहिले भारतको हैदराबादबाट दस हजार पाँच बिरूवा ल्याएर उनीहरूले रोपेका थिए। बिरूवा खरिद गरी दाङसम्म ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि प्रणाली निर्माण गर्दा सात लाख बढी खर्च भएको बेगमले बताए।

तराईको जमिनमा पनि उत्पादन लिन सकिने उन्नत जातको स्ट्रबेरीको बिरूवा खोज्दै हैदराबादसम्म पुग्नु परेको हो,’ उनले भने।

घोराहीको माटो र हावापानी स्ट्रबेरीका लागि उपयुक्त रहेको पाइएपछि राम्रै उत्पादन हुन्छ र त्यसबाट राम्रै मुनाफा लिन सकिन्छ भन्ने सोचले खेती गरिएको वीरेन्द्रले बताए।

अहिले भारतलगायत देशबाट दाङमा स्ट्रबेरी भित्रिँदै आएको छ। त्यो क्रमलाई केही मात्रामा भए पनि न्यूनीकरण गर्ने उद्देश्य आफूहरूको रहेको वीरेन्द्रले बताए। स्रोत ः सेतोपाटी

VIEWS: 112