अधिक वर्षाले धानबालीमा क्षति !

Wednesday, October 12th, 2022 |

 

बाँके २५ असोज

दशैको मुखैमा आएर निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर,
राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए ।

त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबाएको छ । “अझै सबै स्थानीय तहको विस्तृत विवरण आएको छैन त्यसैले धान खेतीमा भएको क्षति बढ्न सक्छ”, ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले भने ।

उनले पानीसँगै आएको हावा र हुरीलेसमेत धान ढलेर अधिंकाश धान खेती पानीमा डुबेर क्षति भएको बताए। जिल्लामा स्थानीय किसानले उन्नत जातामा राधा ४ र विभिन्न हाइब्रिड जातका धान खेती गरेका छन् । केही ठाँउमा धान खेतीलाई बाढीले पनि प्रभावित गरेको बताइएको छ । बाँकेमा कूल खेतीयोग्य जमिन ३५ हजार हेक्टर रहेको छ । स्रोत ः रासस

VIEWS: 174