टर्की फार्ममा बर्डफ्लु पुष्टि भएपछि १ हजार पन्छी नष्ट !

Friday, June 24th, 2022 |

 

सुर्खेत १० असार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीमा रहेको एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पछीं नष्ट गरिएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको पशुपक्षी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो । टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो ।

टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपश्चात् पशुपक्षी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका पछीं नष्ट गरिएको थियो ।

डिस्पोजल टोलीले बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा डिस्पोज गरेको निर्देशनालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो ।

VIEWS: 401