युवा विदेशीदा जमिन बाँझिन थाले !

Tuesday, May 24th, 2022 |

 

म्याग्दी १० जेठ

स्वादेशमा कृषिबाट जीवन गुजारा गर्न गाह्रो हुने देखेर गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम बढेपछि म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै हुन थालेको छ ।

युवा विदेशिने र सहर पलायन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा जमिन बाँझै छाडेका छन् । युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ ।

दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवाविहीन हुने गरेका बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीय चित्रबहादुर रिजालले बताउनुभयो । रिजालले भन्नुभयो, खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गाजमिन बाँझै छाड्न बाँध्य छौँ ।

यहाँका बासिन्दाले आफ्नै जग्गा जमिन भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन् । सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका ३ का जगबहादुर बूढाले बताउनुभयो । अहिले यहाँ भएका युवा पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँले बताउनुभयो ।

वर्षौंदेखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घर जीर्ण भई भत्कन थालेका छन् । अर्कोतिर भूकम्पले भत्काएको घरको पुनःनिर्माण नगरी सहर बजारमा डेरामा बस्न थालेका छन् ।

एकातिर कामदारको अभाव छ भने अर्कोतर्फ खेतीयोग्य जमिनलाई पल्टिङ गर्ने क्रम उत्तिकै बढेको छ । खेतीयोग्य जमिन बाँझो हुन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको चपेटामा स्थानीय परेका छन् ।

स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्य वृद्धि हुने गरेको व्यापारीको भनाइ छ । खेतबारीमा बनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चामल र खाद्यान्न किनेर खाने गरेका छन्, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

कृषि प्राविधिक बानियाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरलगायतका ठाउँमा पनि जमिन बाँझै छ । धान उत्पादन हुने सिंगा, बगरफाँट, डाँडाखेतलगायतका ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् ।

यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहहरुलले किसानलाई प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीलगायतमा अनुदान दिने, बिमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन ।

पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले जानकारी दिए ।

VIEWS: 194