कृषिमा बजेट नबढाईए थप संकट ः सुमार्गी

Tuesday, May 17th, 2022 |

 

काठमाडौं ३ जेठ

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले कृषिमा आगामी बजेट पहिलेकै निरन्तरतामा मात्र ल्याइए देश थप आर्थिक संकट तर्फ धकेलिने धारण ब्यक्त गरेका छन् । कृषक खबरसँग समग्र कृषि क्षेत्रको बिषयमा समसामयीक कुरा गर्दै उनले सो धारणा राखेका हुन् । साथै उनले यदि साँचिकै कृषिको बिकास गर्ने मनसाय भएको भए कृषिमा यसपालीको बजेट कम्तिमा १० प्रतिशत छुट्याउनुपर्ने बताए । तर यसपालीको बजेटले कृषिलाई मुख्य प्राथमिकता राख्छ भन्नेमा आफु ढुक्क रहेको पनि सुमार्गीले बताए ।

अर्थमन्त्री जनार्दन शर्माका पछिल्ला सोच र योजनाका आधारलाई हेर्दा आउने आर्थिक वर्षको बजेटले कृषिजन्य उद्योगको विकास गरी आन्तरिक बजार तथा निर्यात प्रवर्धनमा योगदान पुर्याउने, कृषिको ब्यवसायिकरणलाई प्राथमिकतामा राखेर गरिबी निवारणमा सहयोग पुर्याउने उद्देश्यका साथ बजेट बिनियोजन हुने उनको भनाइ छ ।

कृषि उद्यम केन्द्रको सभापती भएका नाताले अर्थमन्त्रीसँग निरन्तर कृषि बजेट र समग्र कृषि विकासको क्षेत्रमा आँफुहरु छलफलमा रहेको सुमार्गीले जानकारी दिए । छलफलका क्रममा हालको मोडालिटिमा कृषिमा अनुदान राख्दा वास्तबिक उत्पादकले नपाएको गुनासो बढिरहेकाले यसलाई परिमार्जन गर्न सल्लाह दिएको पनि उनले बताए ।

देशलाई कृषि प्रधान भन्ने, जिडिपी मा ३५ प्रतिशत योगदान कृषिले दिन्छ भन्ने तर बजेटमा कृषिलाई प्रधान कहिल्यै नबनाउने नेपाल सरकारको प्रचलनले निर्यात गर्ने देश अधिकांस खाद्यान्न आयातमा निर्भर बन्दा बेरोजगारी र आर्थिक संकटमा फँसेको सुमार्गीको धारणा रहेको छ ।
कृषि उद्यम र कृषिमा उत्पादन बढाउनका लागि ब्यापारिक तथा भौगोलिक क्षेत्रहरुको आधारमा गुणस्तरिय कृषिजन्य उत्पादन सामाग्रि र उत्पादनको संकलन, प्रशोधन, संचय, ढुवानी र बजारमुल्य जस्ता ब्यवसायिक सेवा प्रदान गर्न आफ्नो भुमिका रहने सुमार्गीको कथन छ ।
कृषि उद्योग ब्यवसाय प्रवर्धनकालागि उत्पादन थलो नजिक संकलन केन्द्र र शहरी क्षेत्रमा संगठित थोक तथा खुद्रा बजार सुनिश्चित गर्न निजी तथा सहकारी क्षेत्र समेतको योगदान रहने बताउँदै सरकारले ब्यवस्थापकिय सहकार्यमा कृषि बजारहरुको विकास, विस्तार तथा ब्यवस्थित गर्ने किसीमको बजेट बिनियोजन हुने विश्वास लिएको उनको भनाइ छ ।

सभापती सुमार्गीले नेपालभरी कृषिको लहर ल्याउन कृषि उद्यम केन्द्र सरकार र प्रदेश सरकारसँग सहकार्यलाई अघि बढाईएको समेत जनाए । केन्द्रको अगुवाईमा नेपालको बिभिन्न कृषिजन्य वस्तु बिदेश पैठारीकालागि तयारी भइरहेको जानकारी दिँदै उनले उत्पादित वस्तुको बजारीकरणकालागि केन्द्रले बिभिन्न योजना बनाईरहेको जानकारी दिए ।

VIEWS: 269