यस वर्ष म्याग्दीमा धानको उत्पादन घट्यो

Thursday, December 30th, 2021 |

 

म्याग्दी १५ पौष

जिल्लामा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पु¥याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष तीन हजार ८८५ हेक्टरमा धानखेती भएको थियो । १३ हजार ३६० मेट्रिक टन उत्पादन भएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । वैशाख–जेठ महिनादेखिनै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोगकिराको समस्या नदेखिए पनि कात्तिकको पहिलो साता भएको वर्षात्ले भित्र्याउन समस्या र २०० हेक्टरमा बोट ढलाएर क्षति गरेको थियो ।

म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहैँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

अनुकूल मौसमका कारण मकै उत्पादन भने बढेको छ । यस वर्ष नौ हजार ४३५ हेक्टर क्षेत्रफलमा मकैखेती भएको थियो । गत वर्ष ३२ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३२ हजार २१० मेट्रिक टन उत्पादन भएको छ । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो । स्रोत ःरासस

VIEWS: 211