नगरपालिकाले दुहुनो भैसीपाल्ने किसानलाई अनुदान दियो

Sunday, July 18th, 2021 |

 

बाग्लुङ ३ साउन

जिल्लाको जैमिनी नगरपालिकाले दुहुना भैंसी पाल्ने किसानलाई १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक किसानलाई १ लाख ३० हजार रुपैयाँ गरी कुल १८ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।

जैमिनी नगरपालिका–१० का दुहुना भैंसी पाल्ने ५० किसानलाई जनही ३४ हजार १४० रुपैयाँका दरले १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक २ जना किसानलाई जनही ६५ हजार रुपैयाँका दरले कुल १ लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।

किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले बताएको छ । ‘किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ’, प्रमुख ढकालले भने, ‘कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ ।’

नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।

जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैंसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैंसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताए । स्रोत ःरासस

VIEWS: 561