यस वर्ष पनि मलकै अभाव हुने भन्दै किसान चिन्तित

Thursday, June 3rd, 2021 |

 

 

चितवन २० जेठ

जिल्लामा धानको बीउ राख्ने समय सुरु भएसँगै किसानहरुलाई मल नपाइने चिन्ताले पिरोलिन थालेका छन् , यस वर्षपनि मलको अभाव हुने भन्दै किसान चिन्तित भएका हुन् ।

गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले कूल मागको ७० प्रतिशत र साल्ट टे्रडिङले ३० प्रतिशत मलको आपूर्ति गरेका हुन्छन् ।

जिल्लामा किसानको हातमा मल वितरणको जिम्मा विभिन्न कृषि सहकारी तथा एग्रोभेटहरुलाई दिएको हुन्छ ।

स्थानीय तहलाई तोकिदिएको कोटाका आधारमा स्थानीय तहले सिफारिस गरेको विवरणका आधारमा मल उपलब्ध गराउने गरिएको छ । यस वर्ष पनि सहकारीहरुमा मल लिन तथा मलका बारेमा चासो राख्ने किसानहरू देखिन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले मलको अभाव र वितरण प्रभावकारी नहुने देखेपछि सरोकारवालासँग मंगलबार प्रशासन कार्यालयमा छलफल गर्‍यो ।

मलको माग र आपूर्तिका बीचमा ठूलो खाडल रहेकोले उपलब्ध मललाई कसरी सहज वितरण गर्ने भन्ने बारेमा छलफल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

जिल्लामा यूरिया मल चालु आर्थिक वर्षमा १७ हजार मेट्रिक टन आवश्यक हुनेमा जम्मा ८ हजार ५ मेट्रिक टन ९५० प्रतिशत० मात्रै उपलब्ध भएको छ ।

पोटास ३८ सय ९ मेट्रिक टनको माग भएकोमा ९५० मेट्रिक टन, डीएपी ९१ सय ७९ माग भएकोमा ५८ सय मेट्रिक टनमात्रै आपूर्ति भएको छ ।

यूरिया, पोटास र डीएपी गरेर १४ हजार ७ सय ३८ मेट्रिक टन मलको अभाव छ । आगामी आर्थिक वर्ष र चालु आर्थिक वर्षको असारसम्म मलको अभाव हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडा, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालयमा अनुरोध गरी पत्राचार गर्ने गरिने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । मलमा कालोबजारी हुन नदिन आवश्यक अनुगमन गरिने प्रजिअ लामिछानेले बताए ।

अहिले सम्म कति बाँडियो मल

चितवनमा चालु आर्थिक वर्षमा कृषि सामग्री केन्द्र लिमिटेडले हालसम्म ३१ सय ४९ मेट्रिक टन यूरिया, २१ सय ८० मेट्रिक टन डीएपी र ८ सय १८ मेट्रिक टन पोटास वितरण गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजन बगालेले जानकारी दिए ।

उनले जिल्लाका १६० भन्दा बढी सहकारी, एग्रोभेट तथा फर्महरुमार्फत मल विरतण भैरहेको बताए । गत वर्षको भन्दा यस वर्ष मलको आपूर्ति र वितरण केही सहज भएको उनको भनाइ छ ।

हप्तामा तीन चार दिन मल वितरणको काम भैरहेको बगालले बताए । ‘हामीले मागेको जति मल कहिल्यै उपलब्ध हुँदैन, १३ हजार २५० मेट्रिक टन मल आउँछ भन्ने अपेक्षा छ, असार र साउनसम्म धान रोप्न किसानलाई खासै मलको अभाव नहोला भन्ने लाग्छ,’ कार्यालय प्रमुख बगालले भने, ‘अहिले किसानले घरघरमा मल लगेर सञ्चिती गर्न थालेको पाएको छु ।’

धेरै मल आउँदा पनि कम्पनीको आफ्नो स्टोर नहुँदा समस्या हुने गरेको छ । कम्पनीसँग जम्मा एक हजार मेट्रिक टनको मात्रै स्टोररेज क्षमता छ ।

कृषि सामग्री केन्द्रले जस्तैं साल्ट ट्रेडिङ कर्पोरेसनले समेत किसानलाई मल वितरण गर्दै आएको छ ।

कर्पोरेसनले चालु आर्थिक वर्षको हालसम्म ३६ सय ३ मेट्रिक टन यूरिया, १६९० मेट्रिक टन डीएपी र ७२ मेट्रिक टन पोटास विक्री गरेको छ ।

कर्पोरेसनले राप्ती नगरपालिकामा १४, रत्ननगरमा २५, भरतपुर महानगरपालिकामा ४४, इच्छाकामना गाउँपालिकामा १, माडी नगरपालिकामा १०, कालिका नगरपालिकामा ५ खैरहनी नगरपालिकामा १५ गरेर ११४ विक्रेताबाट मलको विरण गरेको कर्पोरेसनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए ।

अहिले डीएपी र पोटासको अभाव नभए पनि यूरियाको स्टक भने निकै कम रहेको गौत्तमले बताए । ‘असारमा थप युरिया आउँछ भन्ने विश्वास छ, सो अनुसारको माग पनि गरेका छौं,’ दाहालले भने, ‘माग र आपूर्तिको सन्तुलन मिलाउन निकै गाह्रो छ ।’

कति चाहिन्छ चितवनका किसानलाई मल रु

चितवनमा प्रत्येक वर्ष यूरिया, पोटास र डीएपी गरेर ३० हजार मेट्रिक टन मल आवश्यक पर्छ । माग हरेक वर्ष बढ्दै गएको छ । धानको सिजनमा जिल्लामा २१ सय मेट्रिक टन यूरिया आवश्यक हुन्छ । जिल्लामा २७ हजार चारसय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ ।

जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मल बाँड्दै आएका छन् । जिल्लामा विगत ७ बर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले पनि मल वितरण गर्दै आएको छ कर्पोरेसनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले किसानहरूको माग अनुसार युरिया मल पुर्‍याउन नसकिएको बताउँछन् ।

‘सरकारी अनुदानको मल लिन किसानहरुले लालायित छन् तर, उहाँहरुको माग अनुसार हामी आपूर्ति गर्न सक्दैनौं,’ प्रमुख दाहालले भने, ‘साउन र भदौमा बढी युरिया चाहिन्छ यही बेला हामीसँग स्टक हुँदैन, नयाँ बजेटअनुसार किन्न पनि भ्याउने अवस्था हुँदैन ।’

झण्डै ४० रुपैयाँ प्रति केजी पर्ने युरिया मल सरकारी अनुदानमा जम्मा १५ रूपैयाँ किलोमा किसानले पाउने गरेका छन् ।

हिउँदमा भन्दा बर्खामा युरिया मलको माग बढी हुने गरेको छ । मलमा सरकारले किसानलाई ६७ प्रतिशत अनुदान दिँदै आएको छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले माग र आपूर्तिको सन्तुलन नमिल्दा यो राष्ट्रिय समस्या बनेर आएको बताए । एकातिर खरिद प्रकृयामा र अर्कोतिर स्टोरेजमा समस्या भएको प्रमुख ढकाल बताउँछन् ।

जेठ १५ मा बजेट आए पनि पास भएर सरकारी प्रकृया अनुसार मल किन्न समय लाग्छ । तर, यही समयमा नै किसानका लागि मल चाहिन्छ ।

नेपालमा पछिल्लो समयमा व्यवसायिक कृषि कर्म गर्ने क्रम बढेसँगै मलको माग पनि बढेको देखिन्छ । चितवनमा हरियो मकै, केरा, तरकारी उत्पादन बढि हुन थालेकोले मलको माग पनि उच्च छ ।

स्रोत ः अनलाइन खबर

VIEWS: 455