चिया निकासी १४७ प्रतिशतले बढ्यो तर अलैँची घट्यो

Friday, October 16th, 2020 |

 

काठमाडाँै ३० असोज
नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार भई १४७ प्रतिशतले बृद्धि भएको छ । यस अघि सरकारले चिया प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो । तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ ।

गएको आर्थिक वर्ष २०७६।७७ को (साउन–भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकोमा यस आव (साउन–भदौ) मा रु १ अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ

केन्द्रको तथ्यांकअनुसार गएको आव २०७६।७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ ।

यता अलैंचीको निकासीमा भने कमी आएको छ आर्थिक वर्षको शुरुमा अलैंचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्यांक भने सामान्य बढेको छ
कोरोना र मौसमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मनालीले बताए । उनी भन्छन्, ‘भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ । त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।’ मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो ।

निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्यांक बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चियाको निकासी सधैं अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ ।

वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्यांकमा फरक नपर्ने बताउँछन्, केन्द्रीय चिया सहकारी संकका महासचिव रविन राई

विभिन्न समस्याले अलैंचीको भाउमा गिरावट आएकाले पनि परिमाण र आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ छ । कोरोनाका कारण किसान र व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैंची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । गत वर्षको अलैंची निकासी नभएको र यस वर्षको अलैंची उत्पादन भइसकेकाले पनि सुधार नभएको अध्यक्ष कार्की बताउँछन् ।

यस्तै बर्सेनि भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैंची व्यवसायी महासंघका केन्द्रीय सचिव मातृका घिमिरेको भनाइ छ ।

पाँच वर्षअघि अलैंचीको मूल्य रु एक लाखप्रति मन ९४० किलो० भएकामा अहिले प्रतिमन रु २० देखि ३० हजारको अनुपात छ । यसरी अलैंचीको बिक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ छ । यस आर्थिक वर्षमा कृषिजन्य पदार्थले कूल ३२ दशमलव छ प्रतिशत ओगटेको केन्द्रको तथ्यांकमा उल्लेख छ । स्रोत ः रासस

VIEWS: 712