किसानको बचत नभएसम्म दिगो कृषि हुन नसक्ने कृषि मन्त्रीको भनाइ

Monday, October 12th, 2020 |

 

काठमाडौँ २६ असोज

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानको बचत सुनिश्चित नभएसम्म कृषिको दिगो विकास नहुने बताएका छन्।

कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आइतबार संयुक्त रुपमा आयोजना गरेको ४० औं विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास नहुने बताएका हुन्।

‘बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन तर उसको जीवनधान्न सक्ने हुनुपर्छ,’ मन्त्री भुसालले भने, ‘कृषिले जीवन चलेन भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ। यसले कृषि पेशा सुनिश्चित हुँदैन।’

खाद्य दिवस मनाइरहँदा विश्वका अर्बो मानिसहरू किन खाद्य संकटको वरिपरी रहेका छन् भन्ने कुरा विर्सन नहुने पनि मन्त्री भुसालले बताए।

दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्चित गर्ने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

‘हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमावली बनाउँदै छौं, यो पक्कै पनि किसानको हितमा हुनेछ भन्ने छ,’ उनले भने।

मन्त्री भुसालले कृषिलाई ४० वर्षको अवधिमा धेरै मेहनतको साथ विगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपन नदेखिएको बताए।

‘कृषिमा ३० वर्षसम्म विदेशीहरुको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागू भयो जसले केही राम्रो पनि गरेको छ तर धेरै मात्रामा आफ्नोपन गुमाएको उनको भनाइ छ । उनका अनुसार नेपाली कृषिलाई आफ्नो इतिहास, परम्परा र सँस्कृति अनुसार दिगो बनाउनुपर्छ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक डा‍.गोविन्द शर्माले कृषिलाई वचाई राख्न चुनौती रहेको बताए।

आत्मनिर्भर हुने तरिकाले कृषि प्रणालीको विकास गरी यसमा रोजगारी सृर्जना गर्नुपर्ने बताउँदै उनले रैथाने बालीलाई प्रोत्साहन गरी पोषिलो खानेकुराको उत्पादन बढाउँदै लैजानु पर्ने धारणा व्यक्त गरे।

‘सप्ताहव्यापी रूपमा मनाइने ४० औं विश्व खाद्य दिवस कार्यक्रम आजबाट सुरू भएको छ। यस वर्षको नारा हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ।

यो दिवस विभिन्न कार्यक्रम गरि ३० गतेसम्म मनाइने छ। स्रोत ः सेतोपाटि

VIEWS: 789