धानको समर्थन मुल्य कार्यान्वयन गर्न कृषि मन्त्रीको जोड

Tuesday, September 22nd, 2020 |

 

झापा ६ असोज

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सरकारले प्रस्ताव गरेको धानको समर्थन मूल्य तोक्ने विषय कार्यान्वयन गर्ने सम्बन्धा विशेष जोड दिएका छन् ।

आन्तरिक उडान सुरु भएसँगै सोमबार झापा आइपुगेका मन्त्री भुसालले सोही साँझ विर्तामोडमा झापाका अगुवा सहकारीकर्मीहरुसँग छलफल गर्दै आम किसानको हितका लागि आफ्नो मन्त्रालयले प्रस्ताव गरेको धानको समर्थन मूल्य तोक्ने सन्दर्भमा सहयोग गर्न आग्रह गरे ।

बिर्तामोड नगरपालीकाले आयोजना गरेको संक्षिप्त कार्यक्रमका बीच मन्त्री भुसालले तल्लोतहका किसानले आफूले गरेको लगानीमा उचित मुनाफा आर्जन गर्न नसकुञ्जेल कृषि क्षेत्रको विकास नहुने बताउँदै धानमा किसानलाई लाभ सुनिश्चित गर्न खोजेको जानकारी दिए ।
धान उत्पादनमा प्रदेश नं १ अग्रणी रहेकोले छलफलको सुरुआत यहीबाट गर्न खोजेको बताउँदै मन्त्री भुसालले धानपछि अन्य खाद्यान्न, दलहन, तेलहनलगायतका कृषि वस्तुमा समर्थन मूल्य तोकेर कृषकलाई ढुक्कसँग कृषिकर्ममा लागिरहन प्रेरित गर्ने मन्त्रालयको योजना रहेको उल्लेख गरे ।
कृषिप्रधान देश भनिए पनि अन्य देशको तुलनामा कृषि क्षेत्रको प्रवर्द्धनमा नेपाल धेरै पछि रहेको भन्दै मन्त्री भुसालले यसमा आमूल परिवर्तनको खाँचो रहेको र त्यसका लागि तीनै तहका सरकारको समन्वयात्मक क्रियाशीलता आवश्यक रहेको बताए । स्रोत ः रेडियो नेपाल

VIEWS: 1523