आगँन र कौशीमा रोप्नुहोस यस्ता औषधिय बनस्पती

Thursday, August 6th, 2020 |

 

काठमाडौँ २२ साउन
घर आगँन र कौशीमा तरकारी खेती सँगै घरमा दैनिक जस्तो आवश्यक पर्ने औषधिय गुणभएको विधिन्न वनस्पति लगाए राम्रो हुन्छ । त्यस्ता वनस्पतिलाई हामी दैनिक खानेकुरामा समावेश गर्न सक्छौं वा आवश्यकता परेको बेला सेवन गर्न सक्छौं । जस्तो कि पुदिना, घिउकुमारी, तुलसी, बोझो, पाखनबेद । यसबाहेक हामीले पहिचान गर्न नसकेका थुप्रै वनस्पति औषधीय महत्वका हुन्छन् । यस्ता वनस्पतिलाई घरकै आसपास वा आफूले सहजै प्रयोग गर्ने स्थानमा रोप्न र संरक्षित गर्न सकिन्छ। यसो गर्नाले प्रत्यक्षत केही लाभ मिल्छ ।

आफूले दैनिक खानेकुरामा समावेश गरिन्छ, जसले शरीरलाई रोग निरोधक बनाउन सहयोग गर्छ ।
औषधीय मूल्यका वनस्पतिको संरक्षण हुन्छ ।

आफ्ना सन्तति वा भावी पुस्ताले समेत यसको गुण सहजै थाह पाउनेछन् ।

कुनै शारीरिक समस्या परेको बखत सहजै उपलब्ध हुनेछ ।

बोझो

बोझो एक प्रकारको वनस्पति हो । यसको जरालाई हामी बोझो भन्छौं। पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ । आयुर्वेदमा यसको खास महत्व छ।

यो ओसिलो स्थानमा फस्टाउँछ । सिमसार त बोझोको लागि अनुकूल स्थान नै भयो । कति ठाउँमा यो आफैँ उम्रिन्छ। कतिपय ठाउँमा भने आफैँले रोप्नुपर्छ । बोझो रोपेको एक वर्षपछि प्रयोग गर्न मिल्छ । यसको जराबाट बोट फैलिन्छ । एक पटक राम्ररी फस्टाएको बोझो अक्सर मासिएर जाँदैन ।

बोझोको जरा वा काँडालाई उखेलेर पखाल्ने । त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । लामो समय राखेर खानका लागि चाहिँ टुक्रा बनाएर सुकाउन सकिन्छ । यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।

बोझोको फाइदा अनेकौं छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ। यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ। आयुर्वेदविज्ञहरूका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ ।

पुदिना

पुदिना खासगरी पेटको समस्यामा उपयोगी मानिन्छ । त्यस्तै रगत शुद्धीकरणमा पनि यसले सघाउ पुर्‍याउँछ । पुदिना हामी औषधिको रुपमा पनि प्रयोग गर्छौ‌ं। यो बगैंचा, गमला जहाँ पनि रोप्न सकिन्छ।

यसलाई हामी सलाददेखि अचारसम्ममा प्रयोग गर्न सक्छौं । यसलाई सलादमा सजाएर सर्भ गर्न सकिन्छ, अचार बनाएर खान सकिन्छ । जुसमा यसको फ्लेवर राख्न सकिन्छ । यसको बास्ना र स्वाद दुवै स्वादिलो हुन्छ । त्यससँगै यसको औषधीय महत्व पनि छ । निम्नशारीरिक समस्यामा पुदिनाको सेवन लाभदायक हुन्छ ।

पेट खराब भएमा वा पेट फुलेमा पुदिनाको सेवन गर्नाले तुरुन्तै आराम मिल्छ। छातीमा कफ जम्दा वा बाडुली लाग्दा पुदिनाको पत्तालाई तातो पानीमा हालेर खानाले पनि शरीरमा लाभ हुन्छ। महिनावारी गड्बडी हुँदा पुदिनाको चिया बनाएर सेवन गर्नाले पनि लाभ मिल्छ । पखालामा पुदिना, प्याज वा कागतीको रस पिउनाले पनि लाभ मिल्छ । यसले पाचन शक्ति बढाउँछ। मुख गह्नाउने समस्या भएकाहरूलाई माउथ फ्रेस्नरको काम गर्छ ।

घिउकुमारी

घिउकुमारी अति उपयोग वनस्पति हो । औषधीय गुणको घिउकुमारी आयुर्वेदमा पनि प्रयोग हुन्छ। यो स्वास्थ्य र सौन्दर्य दुवैमा प्रयोग गर्न सकिन्छ। राम्रो कुरा त के भने घिउकुमारी घर, बगैंचामा सजिलै लगाउन सकिन्छ।

भनिन्छ, घिउकुमारीले रातको समयमा अक्सिजन प्रवाह गर्छ। यसले गर्दा हाम्रो आसपासमा घिउकुमारी छ भने त्यसले स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ।

यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरू पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरू पाउन सकिन्छ । यसको काँडायुक्त पातहरूलाई काटेर पेस्ट निकाली बिहान खाली पेटमा ३(४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्तदुरुस्त हुन्छ।

टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, चायापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन घिउकुमारी लाभदायक हुन्छ । यसले रगतको कमीलाई हटाउँछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ ।

आगोले पोलेर वा काटेर चोट लागेको ठाउँमा घिउकुमारी लगाइदिएमा आफ्नो एन्टिब्याक्टेरिया र एन्टिफङ्गल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

तुलसी

सामान्य घाँटी दुखेको निको बनाउनेदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउनेसम्ममा तुलसी उपयोगी मानिन्छ । के पनि सुनिन्छ, भने तुलसीले दूषित वायुमण्डललाई शुद्धीकरण गर्छ। त्यसैले घरको झ्याल छेउमा तुलसीको बिरुवा लगाउनु उत्तम हुन्छ।

हुन त हामीले तुलसीलाई घर(आँगनमा मठ बनाएर रोप्ने गरेका छौं। तुलसी आफैँमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ। अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ नै घरको वातावरण राम्रो बनाउँछ।

तुलसीको एकरदुई पात नियमित रुपमा सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्छ। चिसोका कारण ज्वरोले सताएको बेला तुलसीको पातमा अदुवाको केही टुक्रा मिसाएर उमाल्नुपर्छ। त्यसलाई सेवन गर्दा रुघा ज्वरो ठिक हुन्छ । तुलसीसँग जोडिएको यस्ता थुप्रै उपचार विधिहरू छन्।

तुलसीको पत्ताको तेलमा युजिनोल, मिथाइल युजेनल र क्यारियोफिलिन पाइन्छ। जसबाट पेन्क्रियाटिक बिटा सेल्सले राम्ररी काम गर्छ । यसका कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर पनि ठिक रहन्छ। यसले मधुमेह हुनबाट रोक्छ। तुलसीमा एन्टिअक्सिडेन्ट र एन्टिकार्सिनोजेनिक गुण पाइन्छ। जसले स्तनक्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ। सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ ।

 

VIEWS: 260

ताजा खबर