नेपालमा चियाखेतीको डेढ सय वर्ष हुदाँ सम्म आफ्नै जात छैन

Tuesday, August 11th, 2020 |

 

इलामा २७ साउन
नेपालमा चिया रोप्न सुरु गरेको १५७ वर्ष भैसक्यो तर अझै सम्म पनि स्वदेशमा आफ्नै जात उन्मोचन गर्न नसक्नु विडम्बना बनेको छ । वि.सं. १९२० मा इलामका तात्कालीन बडाहाकिम गजराजसिंह थापाले रोपाउन सुरु गर्नुभएकोे चिया अहिले देशका धेरै जिल्लामा विस्तार भएकोे छ तर अहिलेसम्म नेपाली चियाको आफ्नै जात विकास हुन सकेको छैन ।

सुरुमा नेपालमा चीनबाट ल्याइएका बिरुवा रोप्न सुरु गरिएको थियो तर अहिले भारतीय विभिन्न जातका चियाका बिरुवा विस्तार भएका छन् । डेढ सय वर्षभन्दा बढीको इतिहास बोकेको नेपालको चियाको नेपाली जात नै तयार हुन नसक्नु चिया क्षेत्रकै लागि दुर्भाग्य भएको सरोकारवाला बताउँछन् ।
नेपाली जातको चिया बनाउन नसक्नु नेपाल र नेपालीका लागि नराम्रो विषय भएको संविधान सभा सदस्य स्थानीय टीकाराम सुब्बा लेप्चा बताउनुहुन्छ । नेपालमा उत्पादन भएको चिया हाम्रो भनेर भोलि कुनै देशले दाबी ग¥यो भने त्योभन्दा बढी खतरा अरू हुँदैन । अन्तर्राष्ट्रिय बजारमा धेरै मन पराइएको नेपाली चियाको बजार नै समाप्त हुन सक्छ ।

लाप्चा यस विषयमा तीनै तहका सरकारको तत्काल ध्यान जान जरुरी छ । तत्काल चिया अनुसन्धान केन्द्र स्थापना गरेर नेपाली जातको चिया बनाउन थाल्नुपर्छ भन्नुहुन्छ । नेपाली चियालाई नेपाली नामबाटै विदेशी बजारमा पठाउन सक्नुमा देशकै हित हुने उहाँको भनाइ छ । अधिकांश क्षेत्र चिया नै रहेको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई पनि अहिलेसम्म नेपाली जातको चिया बनाउन सरकारले चासो नदिएको बताउनुहुन्छ । उहाँ आफ्नै जात निर्माण गर्न कम्तीमा दस वर्ष लाग्छ । हाम्रो त्यो जातै छैन, विदेशी बजारमा जाँदा कुन जात लिएर जाने ? प्रश्न गर्नुहुन्छ । उहाँका अनुसार आफ्नै जात नबनाउने हो भने अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउन भारतसँग मिल्नुको विकल्पै हुँदैन ।

करिब तीन वर्षअघि फिक्कलस्थित चिया विस्तार आयोजनामा नेपाली जातको चियाका लागि अनुसन्धान सुरु पनि भएको थियो । दार्जिलिङका चियाविज्ञ एस.के.प्रधानले सुरु गरेको अनुसन्धान दुई वर्षअघि उहाँको निधनसँगै सकिएको छ । प्रधानले गरेको अनुसन्धानको सबै डकुमेन्ट सुरक्षित छ तर अन्य काम अघि बढ्न सकेन, चिया विस्तार आयोजनाका प्रमुख इन्द्र अधिकारीले अहिले नयाँ जातका विषयमा केही भएको छैन भन्नुभयो ।

प्रदेश १ सरकारले आउँदो कार्यक्रममा चिया अनुसन्धान केन्द्र सुरु गर्ने कार्यक्रम राखेको भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री रामबहादुर रानाले जानकारी दिनुभयो । उहाँले चिया अनुसन्धाका विषयमा कृषि अनुसन्धान केन्द्र ९नार्क० सँग कुरा भइरहेको छ, केही समयपछि सम्झौताको चरणमा जान्छौँ । यो आवश्यक छ, चियाको अनुसन्धानका लागि पुरानो इलाम चिया बगान मुख्य स्रोत हो, यहाँ सबैभन्दा पुरानो चिया र विभिन्न बीउबाट उमारिएको चिया छ भन्नुभयो । स्रोत ः गोर्खपत्र अनलाइन

VIEWS: 1063