सलह कीरा प्रति किलो रु १ सयमा गाउँपालिकाले किन्ने

Monday, June 29th, 2020 |

 

 

स्याङ्जा १५ असार
शनिवार देखी नेपाली भारतिय सिमावर्ती जिल्लाहरुबाट नेपाल प्रवेश गरेको सलह कीरा स्याङ्जामा पनि देख्रीएपछि जिल्लाको एक गाउँपालीकाले प्रति किलो रु १ सय रुपैयामा सलह कीरा किन्ने भएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो कीरा देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको जानकारी दिए । उनले भने, “सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।”

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए। यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिए ।

सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए । किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए। खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् । सोत ः रासस

VIEWS: 1510