सर्वहाराबर्गिय सामन्तवादको उदय

Wednesday, December 25th, 2019 |

९ पुष, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभागले देशव्यापी रुपमा बैचारिक÷राजनीतिक प्रशिक्षण चलायो । ती स्कुलहरुमा प्रस्तुत एउटा मुलभुत विषय भनेको नेपाली समाजको चरित्र, पार्टीको कार्यदिशा र कार्यभार हो । प्रशिक्षणका दौरान मुलुकबाट (केही अवशेष बाहेक) सामन्तवादको अन्त्य भएको, समाज पुँजीवादमा संक्रमण भैसकेको, पुँजीबादी—जनवादी क्रान्ति आधारभुत रुपमा सम्पन्न भएको र वैज्ञानिक समाजवाद तर्फको यात्रा सुरु भएको जस्ता निष्कर्षहरु पेश गरिएका छन् ।

उपरोक्त सैद्धान्तिक निष्कर्षहरुलाई आधार मान्दा कम्युनिष्ट पार्टीले भन्ने गरेको सामन्तवादको अन्त्य र पुँजीवादी जनवादी क्रान्ति पनि आधारभुत रुपमा सम्पन्न भैसकेको बुझ्नुपर्ने हुन्छ । त्यसो हो भने कम्युनिष्ट पार्टीले भन्ने गरेको श्रमजिबी र सर्वहाराबर्गिय राज्यसत्ता, राज्यसंरचना, आदर्श, नीति, नैतिक आचरण र संस्कार स्थापित भयो त ? के विगतका मुल्य, मान्यता र प्रतिवद्धताहरु कार्यान्वयनको दिशातर्फ गैरहेका छन् ? सम्पुर्ण नीजि जिन्दगी परित्याग गरेर सर्बहाराबर्गको मुक्ति या मृत्युको कसम खाएका नेताहरुको आजको जीवनशैली र प्रवृत्ति ठिक छ ? सैद्धान्तिक आदर्श, मुल्यमान्यता र ब्यवहारिक जीवनशैली, चिन्तन, प्रवृत्ति बीचको अन्तर किन फराकिलो बन्दै गईरहेको छ ?
यो नेकपाको पार्टी जिवनमा उभिएका अहम, ज्वलन्त र सम्बेदनशील प्रश्न हुन् । नेकपा र त्यसको नेतृत्वमा रहेको दुई तिहाईको सरकारप्रति बढ्दै गएको असन्तुष्टि पनि यही प्रश्नको मनोविज्ञानबाट व्यक्त भैरहेका छन् । यी प्रश्नहरुको बस्तुपरक उत्तर र चिरफार बिना नेकपालाई अर्को चुनाव फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ ।

त्यसैले नेकपाले संचालन गर्ने स्कुलहरुमा पार्टीभित्र झाँगिएको परिर्वतन बिरोधी गैरसर्वहाराबर्गिय चिन्तन प्रवृत्तिसँग विजय हाँसिल गर्ने विधि र उपायका बारेमा बिहंगम बहसको खाँचो छ ।

सिद्धान्त र ब्यवहारको बेमेल
कम्युनिष्ट आन्दोलनमा एउटा भनाई छ, सिद्धान्तबिनाको ब्यबहार अन्धो हुन्छ, ब्यबहार बिनाको सिद्धान्त लंगडो हुन्छ, । कम्युनिष्ट नेताहरुको हिजोको भनाई र आजको गराईबीचको बिरोधाभासले सिद्धान्त लंगडो बनेको छ । सत्तामा पुगेपछि उनीहरुमा सामन्ती राजारजौटाहरुलाई माथ दिने जीवनशैली र कार्यशैलीको भुत सवार भएको देखिन्छ । सर्वहारा भनिएकाहरुको चासो, गुनासो र समस्याप्रति उदासिन बन्न थालिएको छ ।
ऐसआराम भोगविलाश, बैभव र बिलासितायुक्त जीवन व्यतित गर्नतर्फ उद्धत छन् नेताहरु । त्यसको सिको गर्दैछन् कार्यकर्ताहरु । उक्त प्रयोजनका लागि दलाली, तस्करी, कमिसनखोरी, भ्रष्टचार जस्ता जस्तोसुकै खेतीपाती गर्न उनीहरुमा कुनै हिनताबोध छैन । पहुँच र पावरको आडमा स्रोत साधनमाथि कब्जा जमाएर अकुत कालोधन आर्जन गर्ने पेशा व्यवसायनै बनेको छ । निजी सम्पति प्रतिको मोह यति ब्यापक छ कि त्यसका लागि जस्तोसुकै हथकण्डा प्रयोग गर्न कुनै निति र बिधिले छेकवार लाउन सक्ने अबस्था छैन ।

श्रमजीवीहरुलाई मालिक बनाउछु भन्नेहरु आफनै मालिक बन्ने, पछाडी परेकाहरुलाई मुलधारमा ल्याउनुपर्नेमा शक्ति आफैमा केन्द्रित गर्ने, हेपिएकाहरुलाई झनै अपमानित गर्ने, भुमिहिनहरुको जीवन थप जर्जर बनाउनेतर्फ तल्लिन छन् । अपारदर्शी लक्जरियस जीवनशैली, अथाह धनसम्पतिको मालिक बन्ने सौभाग्य भुईमान्छेका योगदान र बलिदानबाट नेता बनेकाहरुलाई प्राप्त भएको छ ।

नेताहरुको राजनीतिक जीवन झुपडी बस्तीको अश्रु, रगत र पसिनाको जगमा स्थापित भएको हो । परन्तुः उनीहरुले आफ्नो धरातल बिर्सिदै जानु ठुलो बिडम्वना र बिचित्रको विषय बनेको छ । सात दशक लामो कम्युनिष्ट आन्दोलनमा बारम्बार यस्ता समस्या दोहोरिरहनुले राम्रो संकेत गर्दैन । यसले कम्युनिष्टहरुका लागि प्राप्त दुई तिहाईको अन्तिम अबसर गम्ने खतरा बढ्दैछ । नैतिक र बैचारिक मुल्यलाई स्वार्थसँग सौदाबाजी गर्ने प्रबृत्तिले सिंगो आन्दोलन प्रदुषित र बदनाम भैरहेको छ ।

निर्वाचित जनप्रतिनिधि र जिम्मेवार नेता कार्यकर्ताहरुको दैनिक कार्यतालिका जनताको दैन्दिनका समस्या सम्वोधन भन्दापनि दलाल, बिचौलिया, ठेकदार जस्ता स्वार्थ समुहसँगको नाजायज सम्बन्ध सम्पर्कमार्फत कमिसनको बार्गेनिंग तर्फ केन्द्रित छन् । यसरी पबित्र कम्युनिष्ट बिचार, दर्शन र राजनीतिको भ्रष्टिकरण, व्यापारिकरण र दलालीकरण गरेर रातारात नवसामन्तहरुको जन्म भैरहेको छ । अतः कम्युनिष्ट बिचार र सामन्ती÷दलाल पुँजीवादी व्यबहारबीचको गठजोडबाट सर्बहाराबर्गिय नवसामन्तवादको उदय भैरहेको छ भन्दा अतिशयोक्ति नहोला ।

पार्टी, त्यसलाई हाँक्ने नेता र कार्यकर्ता आज सर्बसाधरण नागरिकभन्दा फरक बन्दै गएका छन् । समाजवाद नेतालाई आयो सर्वसाधरण जनतालाई आउने छाँटकाँट देखिएन । प्रत्येक दिन जनता भन्दा दलाल, तस्कर, माफियाहरुसँग नेताहरुको भेटघाट र उठबसले उक्त कुरालाई पुष्टि गर्छ । हिजो उत्पीडित वर्गको कुरा गर्न कहिल्यै नथाक्नेहरु अहिले उनीहरुको कुरा सुन्नपनि चाहँदैनन् । कम्युनिष्ट क्रान्तिकारी नेताहरु शहरमा राम्रो घर जोड्न पाए हुन्थ्यो, छोराछोरी राम्रो महंगो स्कुलमा पढाउन पाए हुन्थ्यो भन्ने मानसिकताबाट ग्रसित छन् । अघिपछि मान्छे लर्को लाएर, डिस्को र बारहरुमा क्रान्तिकारी नेताहरुको सामन्ती जीवनशैली उदांगिन थालेको छ ।

शुद्धिकरण होला ?
नेता कार्यकर्ताहरुमा देखिएको सैद्धान्तिक बिचलन कठोर शुद्धिकरण अभियानको माध्यमबाट मात्रै रोक्न सम्भव छ । तर पार्टीभित्र झांगिएको तमाम समस्या समाधानतर्फ गम्भिर पहलकदमी लिनुभन्दा नेकपा नेतृत्व आँखा चिम्लिएर बसेको छ । जनवादी केन्द्रियता, दुईलाईन संघर्ष, एकता, संघर्ष र रुपान्तरण, नयाँ आधारमा नयाँ एकता जस्ता अभ्यास प्रायः शुन्य बनेको छ । फलतः शुद्धिकरण मामिलामा स्पष्ट निति निर्देशन र त्यसको कडाईपुर्वक कार्यान्वयन नहुँदा पार्टीप्रतिको अविस्वास चुलिँदो छ । सम्पन्न उपनिर्वाचनको परिणाम पनि सोही कुराको संकेत र सन्देश हो ।

नेताहरुको अपत्यारिलो आर्थिक हैसियतको सत्य निरुपण र भडकिलो जीवनशैलीमा लगाम नलगाउँदा नेता कार्यकर्तामा जे गर्दापनि हुन्छ भन्ने मनोबृत्ति बढेको छ । नेता र धेरै कार्यकर्ताहरुमा देखिएको गैरसर्बहारा वा गैर क्रान्तिकारी विचार र व्यवहारलाई नियन्त्रण गर्न पार्टी पंक्तिमा आलोचनात्मक चेत भएका नेता कार्यकर्ताको पंक्ति बलशाली हुन जरुरी छ । उनीहरुबाट पेचिलो दुईलाईन संघर्ष चलाउने हिम्मत गर्दापनि गलत प्रवृत्ति धेरै हदसम्म नियन्त्रण हुने सम्भावना रहन्छ । यद्यपी नेताहरुको गुलाम गर्ने, कागताली र भजनमण्डलीको अभ्यासले पार्टीलाई जिवन्त नभई क्रमशः विचारको अन्त्य हुने देशातिर धकेलिरहेको छ ।

नेकपा अध्यक्ष प्रचण्डको एउटा भनाई छ, ‘सिद्धान्तबाट स्खलित भएपछि पतनको कुनै सिमा हुँदैन ।’ उनले भनेजस्तै विशेषगरी नेकपाभित्र देखिएको विचलन भगवानले पनि रोक्न नसक्ने परिस्थिति बन्दैछ । कतिपय नेताहरु रातारात नयाँ बर्गमा रुपान्तरित हुने र कार्यकर्ताहरु खाडि मुलुकमा भौतारिरहनुपर्ने समस्याले नेकपाको जनमत बच्न सक्दैन ।

नेकपाले सामाजिक न्याय, सुखि नेपाली समृद्ध नेपाल, र समाजवादको नारा जति चर्को ढंगले लगाईरहेको छ, व्यवहारतः त्यही रुपमा त्यसप्रतिको निष्ठा र कार्यान्वयन पक्ष कमजोर बनिरहेको छ । अन्ततः एउटा भनाई छ, ‘जोगीको घरवार हुँदैन, कम्युनिष्टको दरवार हुँदैन ।’ तर जोगिको घरबारै घरबार, कम्युनष्टहरुको दरवारै दरवार हुने उल्टो हिँडाईले नेपालमा कम्युनिष्ट आन्दोलनमा गम्भिर संकट नआउन भन्न सकिन्न । ‘राज्यसत्ता प्राप्त गर्नुभन्दा टिकाउन सयाँै गुणा गाह्रो हुन्छ’ भन्ने लेनिनको उक्ति यहाँ मननयोग्य छ ।

तसर्थ नेकपाले ठुलो क्षेतिबाट पार्टीलाई जोगाउन प्रतिक्रान्तिलाई मद्धत पुर्याउने नेता कार्यकर्ताहरुको सबैखाले गलत गैरसर्बहाराबर्गिय प्रबृत्ति नियन्त्रण गर्न ढिलो गर्नुहुन्न ।

लेखक नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष र नेपाल थामी समाजका केन्द्रिय महासचिव हुन् ।

VIEWS: 2221