आलु र सुन्तला प्रबद्र्धन गर्न ‘महोत्सव’

Monday, October 14th, 2019 |

२७ असोज, दोलखा । दोलखाको मेलुङ गाउँपालिका, आलु र सुन्तला खेतीलाई उच्च प्राथमिकतामा राख्दै त्यसको व्यवसायिक उत्पादन र प्रवद्र्धनमा जुटेको छ ।

कृषितर्फ आलु र सुन्तलाको व्यवसायिक खेतीलाई महत्व दिँदै गाउँपालिकाले महोत्सव आयोजना गर्ने तयारी गरेको हो ।
आलु र सुन्तलाको अर्गानिक तथा व्यवसायिक उत्पादनलाई बढवा दिई आत्मानिर्भर बनाउने, त्यसबाट कृषकको आयस्तर बढाउने, रोजगारी सिर्जना गर्ने र बजारीकरणलाई समेत सहज तुल्याउने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार आउँदो कात्तिक १ र २ गते गाउँपालिका वडा नम्वर ३ घ्याङसुकाठोकर स्थित भन्ज्याङमा आलु महोत्सव र पुष महिनामा वडा नम्वर १ पोवटीमा सुन्तला महोत्सव गर्न लागिएको हो ।

मेलुङ गाउँपालिकामा कृषि वालितर्फ विशेषगरी आलु र सुन्तला खेती बढि हुँदै आएको छ । महोत्सवमार्फत व्यवसायिक उत्पादनमा कृषकहरु थप आकर्षित हुने, रोजगारी सिर्जना हुनुका साथै बिउ, मल र प्रबिधि हस्तान्तरणमा सम्बन्धित निकायको ध्यानाकर्षण भई स्थानीय कृषक लाभान्वित हुने गाउँपालिकाको विस्वास छ ।

मेलुङ गाउँपालिकाको भुमेस्थान, काँडे, बाटुले, फुर्के सल्ला, तितेचौर, सहरे, लहरे, माथिल्लो दम्बुवा, सरङथली, दुधिले भन्ज्याङ, कल्छे, डाँडाखर्क, कात्तिके, पवटी, सुकाठोकर, धनुके, थामीडाँडा, ज्यामिरे, गर्भे, सितली, सिम्रास लगाएतका स्थान आलु उत्पादन क्षेत्रका रुपमा चिनिन्छ ।

वडा नम्बर ३ का अध्यक्ष हिरा थोकरका अनुसार महोत्सवमा आलुबाट बनेका बिभिन्न परिकार, मौसमी तथा बेमौसमी तरकारीहरुका स्टल राखिनेछ भने गाउँपालिकाको महत्वपुर्ण स्थानका तस्विरहरुपनि प्रदर्शनमा राखिनेछन् । यस्तै स्थानीय संस्कृति झल्किने साँस्कृतिक झाँकी, राष्टिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहनेछन् । महोत्सवको ३ नम्बर प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नेछन् ।

महोत्सवमार्फत आलुमा आत्मानिर्भर बन्ने, प्रांगारिक उत्पादन, संकलन, प्रसोधन र बजारिकरण गर्ने, आलुको भण्डारण केन्द्रहरुको स्थापना, गाउँपालिका बाहिर पनि बिक्रिकेन्द्र स्थापना गरी बजारीकरण सहज बनाउने, सामुहिक खेती प्रणाली मार्फत स्वरोजगार र उद्यमशिलता बढाउने, अर्गानिक आलु उत्पादनलाई प्रोत्साहन र कृषकको आयस्तर उकास्ने, व्यवसायिक पशुपालनमा सहयोग पुर्याउने, आलुको ग्रेडिङ, लेभलिङ, प्याकेजिङ, ब्राण्डिङ गर्ने, रैथाने तथा उन्नत जातको विउ खोज, अनुसन्धान र संरक्षण गर्ने लगाएतका लक्ष्य लिईएको गाउँपालिकाले जनाएको छ ।

VIEWS: 738