देवदास स्मृति पत्रकारिता पुरस्कार खतिवडा र राउतलाई

Monday, September 2nd, 2019 |

नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको देवदास स्मृति पत्रकारिता पुरस्कारबाट जिल्लाका दुई जना क्रियाशिल पत्रकार पुरस्कृत भएका छन् । शाखाका संस्थापक अध्यक्ष स्वर्गिय देवदास श्रेष्ठको नाममा स्थापना गरिएको पुरस्कार नागरिक दैनिकका दोलखा सम्वाददाता रमेश खतिवडा र सौर्य दैनिककी निता राउतलाई प्रदान गरिएको हो ।

महासंघ दोलखा शाखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको देवदास स्मृति सभामा दुवै पत्रकारलाई प्रमुख अतिथि ३ नम्वर प्रदेश सभाका सांसद विशाल खड्काले नगद १० हजार र प्रमाणपत्रद्धारा सम्मान गरे ।

खतिवडालाई देवदास समृती पत्रकारीता पुरस्कार २०७६ र राउतलाई देवदास स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट सम्मान गरिएको हो । कार्यक्रममा पुरस्कृत खतिवडा र राउतले पुरस्कार बापतको रकम महासंघको नवनिर्मित भवनका लागि अध्यक्ष जिवन लामालाई हस्तान्तरण गरे ।

कार्यक्रममा सांसद खड्का, नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवि मास्के, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, शाखाका पुर्व अध्यक्ष उद्धव पोखरेल, सरद सापकोटा लगाएतले देवदास श्रेष्ठले पुर्याएको योगदान र अवको जिम्मेवारीका विषयमा चर्चा गरे ।

महासंघ दोलखा शाखाका संस्थापक सभापति श्रेष्ठको २०६२ साल भाद्र १६ गतेका दिन हृदयघात भई निधन भएको थियो ।

VIEWS: 449