तामाकोशीको सेयर : अढाई अर्ब जुट्यो, संकलनको म्याद थपिएला ?

Monday, August 27th, 2018 |

–साझावोली सम्वाददाता


११ भदौ, दोलखा । माथिल्लो तामाकोसि जलविद्युत आयोजनामा करिव डेढ लाख दोलखाबासिले सेयरका लागि आवेदन दिएका छन् । गत साउन महिनाको १६ गतेदेखि बैंकहरुमार्फत सेयर संकलन सुरु गरिएकोमा हालसम्म त्यत्ति संख्याको आवेदन परेको हो । यसअघि निर्धारण गरिएको (भदौ १४ गतेसम्म) सेयर संकलनको म्याद अव ३ दिनमात्रै बाँकी छ ।

आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले हालसम्म १ लाख ४५ हजार बढिले सेयरका लागि आवेदन दिईसकेको जानकारी दिए । उक्त आवेदनबाट लगभग २ अर्व ४५ करोड रुपैयाँ बरावर रकम जुटेको छ । आयोजनाले दोलखा जिल्लाबासिका लागि ३० देखि अधिकतम तीन सय कित्ताको सिमा राखेर १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बरावरको सेयर जारी गरेको थियो ।

उक्त सेयर आयोजनाको कुल लागतको १० प्रतिशत मानिएको छ । हालसम्म संकलित रकम जारी गरिएको सेयरको दोव्बर भन्दा बढि हो । तर जिल्लाका अझै ठुलो जनसंख्याले आवेदन गर्न बाँकी छ । दोलखामा करिव पौने ३ लाख जनसंख्या सेयरका लागि योग्य रहेको अनुमान छ ।

बैंकमा भिडभाड कायमै
सेयर आवेदन गर्ने म्याद केही दिन मात्रै बाँकी रहँदा बैंकहरुमा आवेदकहरुको चर्को भिड छ । बैंक अधिकारीहरुका अनुसार आवेदनका लागि फर्म बुझ्ने सर्बसाधरणको संख्या अझै अत्याधिक छ । आवेदनका लागि सर्बसाधरण नागरिक दिनभर लाईनमा बस्ने गरेका छन् । यद्यपी सेयर आवेदन गर्ने समय केहीदिन मात्रै बाँकी रहेकाले जिल्लाको ठुलो जनसंख्या छुट्नसक्ने सम्भावना देखिएको छ ।

कतिपयले सेयर हाल्न नचाहनेपनि हाल्न चाहाने सर्बसाधरण समयसिमाका कारण हाल्न नपाउने होकी भन्ने चिन्तामा छन् । साझावोलीसँग सम्पर्कमा आएका केही सर्वसाधरणले सेयर आवेदन गर्ने समय बढाईदिए हुने आषा व्यक्त गरे । “पैसा जुटाउँदैछौँ, १४ गतेसम्म जुटेन भने त सेयर हाल्न पाईन्न होला, उनीहरुले भने केही समय म्याद बढाईदिए हन्थ्यो ।” म्याद १ साता थप हुने हल्लाका कारण पनि कतिपयले त्यही अनुसारको मनस्थिति बनाएको पाईएको छ ।

म्याद थप होला ?
जिल्ला समन्वय समिति र आयोजना अधिकारीहरुले अहिलेसम्म सेयर आवेदनको म्याद थप हुनसक्ने सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । समन्वय समितिका प्रमुख डबल पाण्डेका अनुसार हालसम्म म्याद थप्नेबारे कुनै तयारी भएको छैन । तर आवेदनका लागि सम्पर्कमा आउने सर्बसाधरणको चाप कायम रहे म्याद थपका लागि अनुरोध गर्न सकिने पाण्डेको भनाई छ ।

आयोजनाका प्रवक्ता न्यौपानेले अहिलेसम्म म्याद थपको कुनै सम्भावना नरहेको बताए । “म्याद थपबारे अहिलेनै केही भन्न सकिन्न, न्यौपानेले भने, धितोपत्र बोर्डलाई अनुरोध गर्न सकिन्छ तर स्वीकृत नहुनपनि सक्छ ।”

म्याद थपिनुपर्छ : सांसद खड्का
यता ३ नम्बर प्रदेशका सांसद बिशाल खड्काले सेयर आवेदनका लागि कम्तीमा एक हप्ताको म्याद थप्नुपर्ने धारणा राखे । म्याद थपका लागि पहल भैरहेको भन्दै उनले थप हुने सम्भावना रहेको बताएका छन् । “सर्बसाधरण जनताको माग र हितलाई ध्यानमा राखेर हामी म्याद थपको पहल गरिरहेका छौँ, सांसद खड्काले भने भोली र पर्सिसम्म सर्बसाधरणको भिड कायम रहे थप हुन्छ ।”

VIEWS: 2520