उम्मेदवारी फिर्ता लिन राजधानीबाट हेलिकोप्टर चार्टर

Wednesday, October 25th, 2017 |

८ कात्तिक, रामेछाप । रामेछापको बाम गठवन्धनविरुद्ध प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका नेताहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आफ्नो उम्मेदवारी फिर्ताका लागि उनीहरु काठमाडौंबाट हेलिकप्टर नै चार्टर गरी मन्थली आए ।

पार्टी नेतृत्वसँगको छलफलपछि उनीहरु उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेका हुन् । जसमा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार हेमन्त पौडेल र २ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका मैनकुमार मोक्तान (मदन) रहेका छन् । उनीहरुलाई बिनाविभागीय राज्यमन्त्री तथा प्रतिनिधिसभाका लागि बाम गठवन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले हेलिकप्टरमा राखेर मन्थली ल्याएका हुन् ।

उम्मेदवारी फिर्ताका लागि साढे १२ बजेतिर नेपाली सेनाको हेलिकप्टरमा रामेछाप झरेका बागी उम्मेदवारहरु र राज्यमन्त्री श्रेष्ठ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिई तत्काल राजधानी फर्किसकेका छन् । प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुरुङ र राप्रपा (प्रजातान्त्रिक)बाट उम्मेदवारी दर्ता गराएका लालबहादुर घिसिङले उम्मेदवारी फिर्ता लिएको रामेछाप मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका पौडेल र राप्रपा (प्रजातान्त्रिक) का दिपबहादुर प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका मोक्तान, पेम्बादोर्जे तामाङ र रामकुमार लामाले पनि उम्मेदवारी झिकेका छन् ।

VIEWS: 239