नेपाल अदुवा उत्पादनमा विश्वमा चौथो ः निर्यातमा सधैँ समस्या

Tuesday, March 14th, 2023 |

 

काठमाडौ ३० फाल्गुन

नेपालको व्यापारघाटा चुलिँदो अवस्थामा छ । उत्पादनको अवस्था कमजोर हुँदा नेपालले मासिक करिब डेढ खर्ब रुपैयाँबराबरको वस्तु आयात गरी बजारको माग धान्दै आएको तथ्य हामि सामु छ ।

नेपालले गर्दै आएको वैदेशिक व्यापारमा आन्तरिक उत्पादनको हिस्सा निकै कमजोर छ । नेपालबाट विशेषगरी कार्पेट, अलैंची, चिया, अदुवालगायतका वस्तु निर्यात हुँदै आएका छन् । व्यापारघाटा कम गर्न कृषिजन्य वस्तुको ठूलो योगदान रहन्छ । तर, सरकारले उत्पादनमा जोड दिन नसक्दा उत्पादन घट्दै गएको छ ।

कृषिजन्य वस्तुसहित अन्य विभिन्न वस्तुमा परनिर्भर बन्दै गएको नेपाल भने अदुवा उत्पादनमा विश्वको चौथो देश हो । विश्वमा अदुवा उत्पादन गर्ने देशमध्ये भारत, चीन र नाइजेरियापछि नेपाल रहेकोछ । अदुवा उत्पादनमा विश्वको चौथो देश रहेको नेपालको हिस्सा ९ प्रतिशत छ ।

इन्डोनेसिया, थाइल्यान्ड, क्यामरुन, बंगलादेश, जापान, माली, फिलिपिन्स, ताइवान, श्रीलंकालगायत देशले पनि अदुवा उत्पादन गर्दैका आएका छन् । ती देशमा उत्पादन भएको अदुवा बेलायत, अमेरिका, जापान र साउदी अरबले ठूलो मात्रामा आयात गर्ने गर्छन् ।

क्षेत्रफलको आधारमा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने देश नाइजेरिया भए पनि उत्पादनका हिसाबले भारत अगाडि छ । भारतले विश्वमा उत्पादन हुने अदुवाको ३२।७५ प्रतिशत हिस्सा ओगटेको छ । त्यपछि चीनले २१।४१ प्रतिशत, नाइजेरियाले १२।५४ प्रतिशत र नेपालले ९ प्रतिशत ओगटेको छ ।

विश्वमा सबैभन्दा बढी एसियाली देशबाट अदुवा निर्यात हुन्छ । जापान र अमेरिका ठूला आयातकर्ता हुन् । तर, नेपालले उच्च रुपमा अदुवा उत्पादन गर्दै आए पनि हालसम्म तेस्रो मुलुकमा उल्लेख्य रुपमा निर्यात गर्न सकेको छैन ।

नेपालले चालू आर्थिक वर्षको ७ महिनामा ६६ करोड ९८ लाख ७१ हजार रुपैयाँको १ करोड ६६ लाख १७ हजार किलो अदुवा निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालबाट २५ करोड ६८ लाख ७५ हजार रुपैयाँको ५३ लाख ६८ हजार किलो अदुवा निर्यात भएको थियो ।

गत आर्थिक वर्षमा नेपालले ६४ करोड १४ लाख ५६ हजार रुपैयाँको १ करोड १९ लाख ५८ हजार मात्रै अदुवा निर्यात गरेको थियो । सरकारी तथ्यांकअनुसार अदुवा निर्यात निकै बढेको देखिन्छ । कारण, गत वर्षभरमा निर्यात भएको अदुवा यो वर्षको ७ महिनामै निर्यात भएको छ ।

तर, नेपालबाट अधिकांश अदुवा भारतमा मात्रै निकासी हुँदै आएको छ । निर्यातमध्ये ९० प्रतिशत भारत जान्छ । नेपालको वैदेशिक व्यापारमा भारतको ठूलो हिस्सा छ । त्यसैले पनि नेपालबाट निर्यात हुने अधिकांश वस्तुको बजार भारत रहेकाले अदुवाका लागि पनि भारतकै बजारमा भर परिरहेको छ ।

चालू आर्थिक वर्ष ७ महिनामा नेपालले ६७ करोड रुपैयाँको निर्यात गर्दा भारततर्फ मात्रै ६० करोड ९२ लाख रुपैयाँको निर्यात भएको छ । त्यसपछि ५ करोड ५९ लाख रुपैयाँको जर्मनी, १९ लाख रुपैयाँको बंगलादेश र २६ लाख रुपैयाँको कतारमा निर्यात भएको छ । अदुवा उत्पादनमा चौथो स्थानमा रहेको नेपालको उपस्थिति अन्तर्राष्ट्रिय बजारमा निकै कम छ ।

अदुवाका लागि भारतीय बजारको मात्र भर पर्नुपर्दा भारतीय व्यापारीले मनपरी गर्ने गरेका छन् । भारतमा भएको उत्पादनको आधारमा माग र मूल्य तय हुने भएकाले नेपाली किसानले खासै लाभ लिन सकेका छैनन् ।

नेपालमा साना‑साना किसानबाट उत्पादन भएको अदुवालाई सरकारले निर्यातमा जोड नदिँदा मूल्यसँगै बजार नपाएको अवस्था छ । उत्पादनको हिसाबले निकै गुणस्तर रहँदा‑रहँदै पनि विभिन्न समस्याले गर्दा भारतबाहेक तेस्रो मुलुकमा निर्यात गर्न सकिएको छैन ।

नेपालले वार्षिक करिब ३ लाख टन हाराहारीमा अदुवा उत्पादन गर्दै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७र७८ मा नेपालमा २ लाख ७९ हजार २०६ टन अनुवा उत्पादन भएको थियो भने आव २०७६र७७ मा २ लाख ९८ हजार ९४५ टन अदुवा उत्पादन भएको थियो । नेपालले २२ हजार हेक्टरमा अदुवा उत्पादन गर्दै आएको मन्त्रालयले जनाएको छ ।

व्यापार तथा निकासी केन्द्रका अनुसार नेपालमा साना किसानले उत्पादन गरेको अदुवा भारतमा मात्रै निर्यात हुने गरेको छ । विश्व बजारमा सुकेको अदुवा र अदुवाको धुलोको उच्च माग छ । तर, नेपालले प्रशोधन तथा बजारीकरणका लागि प्रयास नै गर्न सकेको छैन ।

अहिले नेपालका अदुवा व्यवसायीले भारतको नाकामा गएर भारतीय व्यापारीसँग सम्पर्क गरी सिधै निर्यात गर्दै आएका छन् । नेपालबाट अदुवा निर्यातका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष समस्या रहेकाले अन्य मुलुकमा निर्यात गर्न नसकेको उनीहरु बताउँछन् ।

व्यवसायीहरुका अनुसार भारतबाहेक अन्य देशसँग नेपालले सहज वैदेशिक व्यापारको वातावरण सिर्जना गर्न नसक्दा उत्पादनको लागतभन्दा कम मूल्य बिक्री गर्न बाध्य छन् ।

तेस्रो मुलुकमा किन निर्यात गर्न सकेको छैन नेपालले रु

मेची उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव गोपाल बस्नेतले नेपालमा गुणस्तरीय अदुवा उत्पादन भए पनि तेस्रो बजारमा निर्यात गर्न नसकेको बताउँछन् ।

उनका अनुसार हालसम्म नेपालले निर्यात गर्दै आएको अदुवा भारतमा मात्रै निर्यात गर्दै आएको छ । भारतबाहेक अन्य मुलुकमा निर्यातका लागि कागजपत्रदेखि प्रक्रिया धेरै लामो भएकाले पनि व्यवसायीले कम मूल्यमै भारतमा निकासी गर्दै आएका छन् ।

नेपालमा उच्च अदुवा उत्पादन हुन्छ । तर, उत्पादनपछि हुनुपर्ने प्रशोधन, प्याकेजिङ, ग्रेडिङलगायतका अन्य काम हुँदैन । जसले गर्दा किसान तथा व्यवसायीले ठूलो लाभ लिन सकेका छैनन् ।

तेस्रो मुलुकमा निर्यात गर्न नसक्नुको मुख्य कारण भारतमा भर पर्ने प्रवृत्ति पनि रहेको बस्नेतको भनाइ छ । सरकारले अदुवा क्षेत्रको विकास र प्रवर्धनमा ध्यान दिन नसक्नु पनि अर्को मुख्य कारण छ ।

नेपालमा हालसम्म पनि अदुवा तेस्रो मुलुकमा निर्यात गर्ने गरी प्रविधि र औद्योगिकीकरणको विकास हुन सकेको छैन । उक्त क्षेत्रको विकास हुन नसक्दा अन्तर्राष्ट्रिय बजारमा उपस्थित हुन सकेको छैन ।

‘नेपालमा न प्रशोधन केन्द्र नै छ न त ग्रेडिङ, प्याकेजिङको व्यवस्था नै छ,’ उनले क्लिकमान्डुसँग भने, ‘नेपालबाट अदुवा निर्यातका लागि ल्याबको व्यवस्थापन त छ तर भारतले नेपालमा रहेको ल्याबको विश्वास नै गर्दैन ।’

कतिपय अवस्थामा व्यवसायीले निर्यात गरिसकेपछि समयमै रकम नपाउने समस्या छ । त्यति मात्रै नभएर नेपालबाट भारतमा माटोसहित अदुवा पठाउँदै गरेकोमा भारतीय व्यवसायीले कुहियो, गुणस्तरको थिएन भन्दै रकम घटाएर दिँदै आएको उनको भनाइ छ ।

नेपालले अदुवा क्षेत्रमा ठूलो लगानी गरी अदुवा उत्पादन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ, ब्रान्डिङ र उत्पादनमा विविधीकरण गर्ने हो भने अदुवा निकै सम्भावित क्षेत्र रहेको सरकारी अध्ययनले नै देखाउँछ । अध्ययनले देखाए पनि अदुवा उत्पादनमा विविधीकरणदेखि प्रशोधन, ग्रेडिङमा समस्या हुँदा तेस्रो मुलुकमा निर्यात हुन नसकेको केन्द्रको भनाइ छ ।

भारतमा व्यक्तिगत तवरबाट मात्रै अदुवा निर्यात हुँदै आएकाले तेस्रो मुलुकमा विभिन्न झमेला व्यहोर्दै निर्यात गर्नेतर्फ व्यवसायी इच्छुक छैनन् । ‘नेपालले व्यावसायिक तरिकाले लगानी गरी प्याकेजिङ तथा प्रशोधनमा ध्यान दिन सकेमा तेस्रो मुलुकमा निर्यात गर्न सक्ने अवस्था छ,’ उनले भने, ‘तर नेपालमा हालसम्म प्रशोधनदेखि प्योकजिङ गर्ने उद्योग स्थापना हुन नसक्दा अदुवा क्षेत्रमा अन्य देशसँग वैदेशिक व्यापार कायम गर्न सकेको छैन ।’

केन्द्रले पनि विभिन्न समस्याले युरोप र खाडी मुलुकसमेत अदुवा निर्यात गर्न नसकेको स्वीकारेका छ । त्यसैले, भारतका व्यवसायीले जति नै दुःख दिए पनि भारतमै निर्यात गर्नुपर्ने बाध्यता छ ।

सरकारले सहयोगमा विभिन्न व्यापार सहजीकरण, द्विपक्षीय सन्धि सम्झौता र व्यापार सम्पर्कका माध्यमबाट विश्वभर अदुवाको बजार खोज्न सक्ने अवस्था छ । तर, सरकारले त्यसतर्फ ध्यान दिन नसक्दा व्यवसायीहरु दिन प्रतिदिन व्यवसायबाट हट्दै गएका छन् ।

त्यस्तै, नेपालबाट निर्यात गर्ने रुट पनि निकै लामो र असहज छ । खाडी मुलुकलगायत अन्य मुलुकमा निर्यातका लागि भारतको समुद्री बन्दरगाह प्रयोग गर्नुपर्ने अवस्था छ । जसले गर्दा व्यवसायीको उच्च लागत हुने भएकाले पनि तेस्रो मुलुकमा निर्यात गर्न सकिँदैन ।

त्यससँगै, व्यवसायीको पहुँच नहुँदा पनि निर्यात गर्न नसकेको बस्नेतको भनाइ छ । वैदेशिक व्यापारमा पहुँचको ठूलो भूमिका रहन्छ । नेपालले भारतबाहेक अन्य देशसँग अदुवा निर्यातको खासै पहल हुन सकेको छैन ।

तेस्रो मुलुकमा निर्यातका लागि प्रक्रिया पूरा गर्न निकै कठिन रहेकाले पनि अदुवा निर्यातमा व्यवसायीले जोड दिएका छैनन् । सरकारले व्यवसायीलाई कुनै प्रोत्साहनदेखि सहुलियतको व्यवस्था गरेको छैन ।

तेस्रो मुलुकमा निकासीका लागि निर्यात व्यापार सम्बन्ध नहुँदा नेपाली व्यापारीले आफ्नो कर्मचारीको माध्यम प्रयोग गरिरहेका छन् । त्यसमा पनि भन्सार महसुललगायत अन्य विविध समस्या छन् । सरकारले बिना कुनै स्वार्थ उत्पादनमा जोड दिई अदुवा क्षेत्रलाई प्राथमिकता राख्ने हो भने व्यापार घाटा कम हुने उनले बताए । स्रोत ः क्लिक माण्डु

VIEWS: 161