नवलपरासीमा बन्यजन्तुको कारण गहुँखेतीमा कमी आउँदै

Friday, February 24th, 2023 |

कावासोती १२ फाल्गुन

पूर्वी नवलपरासीको कावासोती–११ का फेमनारायण पौडेलले आफ्नो खेतबारीमा गहुँको खेती गर्न छाड्नुभएको करिब पाँच वर्ष पुग्यो । नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उहाँले आफ्नो खेतबारीमा गहुँखेती नै गर्न छाड्नुभएको हो ।

पौडेलजस्तै पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश किसानले खेतबारीमा गहुँखेती गर्न छाडेका हुन् । जिल्लाको दक्षिण क्षेत्र माटो तथा हावापानीका हिसाबले गहुँ उत्पादनका लागि उपयुक्त मानिएको भए पनि निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडालगायतका वन्यजन्तुको त्रासका कारण गहुँखेतीमा कमी आएको छ । केही वर्षअघि उत्पादन गरेको गहुँ घरायसी प्रयोजनमा प्रयोग गरेर रहेको बिक्री गर्ने गरेका किसान अहिले गहुँका लागि बजारको भर पर्नुपरेको छ ।

बाली नलाग्दैको हरियो अवस्थाको गहुँको खेत भेट्टाउँदा एकसिङ्गे गैँडा केही पनि बाँकी नराखी चर्ने गरेको पौडेल बताउनुहुन्छ । “सधैँ खेतमा मचान बनाएर कुर्न पनि सकिन्न, हरियो गहुँ पायो भने गैँडाले फेदसम्मै खाइदिन्छ, त्यसपछि गहुँको उत्पादन त के घाँस पनि हुदैन”, उहाँले भन्नुभयो ।

निकुञ्जबाट निस्कने वन्यजन्तुले खेतीबाली नष्ट गरे क्षतिपूर्ति पाइने व्यवस्था भए पनि न्यून क्षतिपूर्ति र झन्झटिलो प्रक्रिया हुँदा किसान मारमा पर्ने गरेका कावासोती–१२ का राजेश लम्सालले बताउनुभयो । “दुःखले लगाएको खेती गैँडाले खाइदिन्छ, क्षतिपूर्ति समयमा पाइन्न, पाइहाले पनि साह्रै थोरै पाइन्छ, वन्यजन्तुको भरपर्दो समाधान नहुँदासम्म खेती गरेर बाँच्न गाह्रो भयो”, उहाँले भन्नुभयो । विशेषगरी एकसिङ्गे गैँडाले गहुँ कलिलो अवस्थामा अत्यधिक रुचाउने भएकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडा गहुँखेती खोज्दै किसानको खेतबारीमा आइपुग्ने गरेको लम्सालले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गहुँखेती गर्ने किसानको सङ्ख्या क्रमशः घटदै गएको कृषि ज्ञान केन्द्रका पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । मध्वर्ती क्षेत्रका किसानले लगाएको गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम बढेकाले यो क्षेत्रमा गहुँखेती घटदै गएको पौडेल बताउनुहुन्छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा गहुँखेती गर्ने किसान घट्दै गए पनि उत्तरी क्षेत्रमा भने गहुँखेती हुने गरेको पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८र७९ मा सात हजार चार सय ४० हेक्टर जमिनमा २० हजार नौ सय ३० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । चालु आव २०७९र८० मा सात हजार चार सय ४५ हेक्टर जमिनमा २१ हजार दुई सय १८ मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखिएको छ । स्रोत ःरासस

VIEWS: 320