लाखौ खर्चेर बनाएको शितभण्डार प्रयोग विहिन

Thursday, January 5th, 2023 |

उदयपुर २१ पौष

 

उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ ।

कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु। १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो । हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०र५० प्रतिशत गरी रु। १८ लाख लागतमा कृषिउपज परिसरसँगै निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन रहेको हो । वडाध्यक्ष भूपेश तामाङका अनुसार कार्यविधि नै नभएकाले यसलाई प्रयोगमा ल्याउन सकिएको छैन । ‘यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि प्रयोगमा ल्याउने तयारीमा छौँ’, नगरपालिकाको विधान समितिका संयोजकसमेत रहेका वडाध्यक्ष तामाङले भने, ‘यो कटारीकै महत्त्वपूर्ण शीतभण्डार हो, यसलाई प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।’

सामान्य ट्रस भवन निर्माण गरेर खुल्लै स्थानमा राखिएको शीतभण्डार आसपास झाडी पलाइसकेको छ । ‘यसको परीक्षणसमेत गरिएको छैन, सञ्चालन हुन्छ हुँदैन थाहा छैन’, स्थानीय भरत खत्रीले भने, ‘अहिले कृषकले उत्पादन गरेको कृषि वस्तु भण्डारण गर्ने ठाउँ छैन, शीतभण्डार बिग्रिसक्यो ।’

कटारी नगरको पहाडी भेगमा कृषकले उत्पादन गरेका कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी वडामा सुन्तला, डल्ले खुर्सानी, अदुवा विभिन्न तरकारीको व्यावसायिक खेती हुने गरेको छ तर शीतभण्डार नहुँदा समस्या छ ।स्रोत ः रासस

VIEWS: 84