ज्वालाकुमारी साह कृषिमन्त्री हुने पक्का !
काठमाडौ ३ माघ
एमाले नेत्री ज्वालाकुमारी साह कृषिमन्त्री बन्ने भएकी छिन् । सत्तारुढ दलहरूले मन्त्रालयको भागवण्डा टुंगो लगाएसँगै एमालेको भागमा कृषि मन्त्रालय परेको हो ।
पूर्वमाओवादी नेत्री साह तत्कालीन नेकपा छुट्टिएपछि एमालेमा प्रवेश गरेकि थिइन् । माओवादी छाडेकी साह अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै नेतृत्वको सरकारमा कृषि मन्त्री बन्न लागेकी हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन् । त्यस्तै, यसअघि २०६६ मा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन् ।
२०७४ को निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा ९एमाले०मा प्रवेश गरेकी थिइन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ ९१० बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी थिइन् । बाराको जितपुर सिमरा वडा नं। १६ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन् ।
यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि उनी मन्त्री भएकी थिइन्। त्यस वेला उनले साढे ४ महीना भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
उनी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा ३ बाट जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई पराजित गर्दै सांसद बनेकी हुन् ।
सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३–३ र जनमत पार्टीले १ र जसपाले २ मन्त्रालय पाउने सहमतिअनुसार एमालेले कृषिसहित अर्थ, परराष्ट्र, रक्षा, भूमिसुधार, स्वास्थ्य र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पनि पाउने भएको छ । त्यस्तै माओवादीको भागमा भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ ।
रास्वपालाई गृह, शिक्षा र श्रम मन्त्रालय परेको छ भने राप्रपाको भागमा ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय परेको छ । सहमतिअनुसार जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको लामो छलफलपश्चात् ओली निवास बालकोटमा भएको छलफलमा भागवण्डाको खाका बनेको थियो, जसलाई बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले अन्तिम रूप दिएको छ ।