प्रजातान्त्रिक गठबन्धनमा तालमेल गर्न कठिन
काग्रेस झस्कियो
२३ असोज । काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी ९राजपा० र संघीय समाजवादी फोरमले प्रदेश २ मा दुई तिहाइ संसद् सिट पाउनुपर्ने माग गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन अग्रसर कांग्रेस झस्किएको छ ।
कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आइतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रूपमा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफूहरूले पाउनुपर्ने माग गरेका हुन् ।
उनीहरूले सबैभन्दा बढी प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट पाउनुपर्ने माग गरेका छन् । प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिट मागिएको स्रोतले जनायो । कांग्रेसले पनि यस क्षेत्रमा ५० प्रतिशत सिट माग गर्दै आएको छ ।
प्रदेश २ लाई कांग्रेसले पनि आफ्नो प्रमुख भोट बैंकको रूपमा लिँदै आएको छ । तेस्रो चरणअन्तर्गत यो प्रदेशमा भएको स्थानीय तहको चुनावमा समेत कांग्रेस पहिलो स्थानमा थियो । त्यसपछि फोरम र राजपा आएका थिए । राजपा र फोरमबीच साझा उम्मेदवार बनाएर चुनावमा जाने सहमति भएपछि यी दुई दलले प्रदेश २ मा दुई तिहाइ सिट संख्या माग गरेका हुन् । ‘हामी दुई दल मिल्दा दुई तिहाइभन्दा बढी स्थानमा चुनाव जित्छौं,’ राजपाका एक नेताले भने, ‘कांग्रेसलाई ५० प्रतिशत छाडेर हामी जान सक्दैनौं ।’ प्रदेश २ मा सोचेभन्दा बढी सिटको अपेक्षा राजपा र फोरमले गरेपछि आइतबार कार्यदल स्तरमा थप छलफल नगरी बैठक टुंगियो । कार्यदल स्तरमा सिट संख्यामा सहमति जुटाउन सकस भएपछि अब शीर्ष तहमा छलफल हुनेछ ।
कार्यदलका सदस्य रामसहाय यादवले दुई दलबाट सातवटै प्रदेशमा आफूहरूले सिट मागेका स्विकारे ।
स्रोतका अनुसार राजपा र फोरमले प्रदेश १ मा प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि २४ सिट मागेका छन् । प्रदेश ३ मा प्रतिनिधिसभा १० र प्रदेशसभा १५, प्रदेश ४ मा प्रतिनिधिसभा २ र प्रदेशसभा ९, प्रदेश ५ मा प्रतिनिधिसभा १० र प्रदेशसभा २२, प्रदेश ६ मा प्रतिनिधिसभा १ र प्रदेशसभा ६ तथा प्रदेश ७ मा प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि ७ सिटको माग छ । प्रदेशसभाको कुल ३३० संख्यामध्ये दुई दलले मात्रै १३१ सिट मागेका छन् ।
दुई राप्रपाले पनि देशभरबाट १५ प्रतिशत सिट पाउनुपर्ने माग गर्दै आएका छन् । कांग्रेस नेतृत्वमा बन्न लागेको गठबन्धनमा राजपा, फोरम, राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० र लोकतान्त्रिक फोरम सहभागी छन् । आजको कान्तिपुर दैनिकमा खवर छ ।