दोलखामा एमाले र माओवादी केन्द्रबीच यसरी हुँदैछ तालमेल

Monday, October 9th, 2017 |

२३ असोज । दोलखा । दुई मुख्य कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केन्द्रिय स्तरमा एकता घोषणासँगै चुनावी तालमेलको सहमतिपछि जिल्लामा पनि त्यसको लागि गृहकार्य सुरु भएको छ । केन्द्रिय स्तरमा आसन्न प्रदेशसभा र केन्द्रिय प्रतिनिधीसभा (संघ) को निर्वाचनमा दुबै दलबीच ६०÷४० को भागबण्डा गर्ने सहमति छ ।

उक्त भागवण्डाको टुंगो दुवै दल सम्मिलित कार्यदलले लगाउने भएपनि जिल्लाको राय सुझाव महत्वपुर्ण हुने भएका कारण स्थानीय स्तरमा छलफल सुरु भएको हो । दोलखाको प्रतिनिधी सभा एक र प्रदेशसभाको दुई गरी तीन सिटमा भागवण्डा गर्नुपर्ने हुन्छ । तीन वटै सिटमा एमाले एक्लैले जित्ने दावी गरेपनि केन्द्रमा भएको तालमेलको सहमतिलाई स्वीकार गर्दै भागवण्डा गर्नुपर्नेमा दुवै दलका नेताहरु सैद्धान्तिक रुपमा सहमत छन् । माओवादी केन्द्रकी नेतृ जिल्ला ईन्चार्ज देबी खड्काले जिल्लामा तालमेलको बातावरण बनाउन र कार्यकर्ताहरुबीच भावनात्मक एकरुपता कायम गर्ने हिसावले छलफल सुरु भएकोे बताईन् ।

दोलखाको सन्दर्भमा सकेसम्म तालमेल गर्नुहुन्न भन्ने मत एमालेभित्र बलियो रहेपनि संघ या प्रदेशमध्ये एउटा पाउनुपर्ने माओवादी केन्द्रको दावी छ । पुर्वराज्य मन्त्री समेत रहेकी माओवादी नेतृ खड्का तालमेलमा पनि सकेसम्म संघको टिकट लिने प्रयासमा छिन् । दुई पार्टीबीच भागबण्डा हुँदा महिला प्रतिनिधीत्वको अनुपात प्राथमिकतामा परे उनको सम्भावना हुनसक्ने माओवादी नेताहरु बताउँछन् । तर दोलखामा एमाले बलियो भएको, ६० प्रतिशतको भागवण्डा आदीलाई आधार मान्दा संघमा माओवादीको सम्भावना नरहेको एमाले नेताहरुको तर्क छ ।

स्रोतका अनुसार एमालेले अन्तिम अवस्थामा माओवादी केन्द्रलाई एउटा प्रदेशसभाको टिकट दिएर बाँकी एउटा प्रदेशसभा र प्रतिनिधी सभाको टिकट आफुले राख्ने बटमलाईन बनाएको छ । यता माओवादी केन्द्रभित्र पनि नेताहरुले एउटा प्रदेशसभाको टिकट लिएर भएपनि तालमेल गर्नुपर्ने मनस्थिति बनाएको स्रोतको भनाई छ । माओवादीको भागमा कुन निर्वाचन क्षेत्र पर्ने भन्ने विषय भने स्पष्ट भैसकेको छैन ।

यद्यपी माओवादीभित्र प्रभावशाली नेताहरु १ नम्वर क्षेत्रका रहेका कारण उनीहरुको जोडबल सोही क्षेत्र लिनेमा रहेको स्रोतको दावी छ । माओवादी केन्द्रले १ नम्वर क्षेत्रमा युवा नेता विशाल खड्का र २ नम्वर क्षेत्रमा नरबहादुर पाख्रिनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
दुबै पार्टीले निर्वाचनका लागि आ–आफ्ना तर्फबाट उम्मेदवारहरुको लामो सुची केन्द्रमा सिफारिस गरिसकेका छन् ।

तर नेताहरुले टिकट पाउनु अगावै भागवण्डा टुंगो लगाउँदै सोही अनुसार चुनावी दौडाहामा निस्कनुपर्ने भएका कारण नेताहरुलाई समयको दवाव छ ।

VIEWS: 707