माओवादी केन्द्र दोलखाले टुंगो लगायो प्रदेशसभा र संघको निर्वाचनका उम्मेदवार

Thursday, October 5th, 2017 |

१९, असोज । दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले आसन्न प्रदेश र केन्द्रिय प्रतिनिधी सभा (संघ) को निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । माओवादी केन्द्रको बिहिबार बसेको जिल्ला कमिटी बैठकले प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारहरुको छनौट गरेको हो । सर्बसम्मत रुपमा गरिएको निर्णय अनुसार केन्द्रिय प्रतिनिधी सभा (संघ) का लागि माओवादी केन्द्रले प्रत्यक्षतर्फ पुर्वराज्यमन्त्री देवी खड्कालाई अघि सारेको छ ।

जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्वर २ जुँगुकी खड्का माओवादी पोलिट व्युरो सदस्य पनि हुन् । खड्का यसअघि पहिलो संविधानसभाको निर्वाचनमा दोलखा क्षेत्र नम्वर १ बाट विजयी भएर राज्यमन्त्री बनिसकेकी छिन् । यसैगरी प्रदेशसभाका लागि दोलखा क्षेत्र नम्वर १ मा युवा नेता विशाल खड्का र क्षेत्र नम्वर २ मा नर बहादुर पाख्रिनको नाम अनुमोदन भएको छ । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवार बनेका खड्का देबी खड्काका सहोदर भाई हुन् । पाख्रिन भने राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता हुन् ।

समानुपातिकमा यस्ता नेता छानिए
माओवादी केन्द्र दोलखाले समानुपातिक तर्फ झण्डै एक दर्जनको नाम सिफारिस गरेको छ । महिला, दलित, जनजाति सबैलाई मिलाउँदा संख्य वढेको माओवादी केन्द्र दोलखाका सह ईन्चार्ज विशाल खड्काले बताए । समानुपातिक तर्फ सिफारिस हुने दश जनामा कृष्ण भुजेल, रिता रिमाल, नविन जिरेल र भिम बहादुर श्रेष्ठलाई चयन गरेको छ ।

यस्तै प्रदेशको समानुपातिक तर्फ दोलखा क्षेत्र नम्वर १ मा हिमाली गोले, छिरिङ शेर्पा, डिएन शेर्पा, तेज बहादुर गोले, तक्त जिरेल र कृष्णमाया कार्कीको नाम सिफारिस गर्ने निर्णय भएको छ । दुई नम्वर क्षेत्रबाट बर्जुराम घतानी, लक्ष्मी थामी, सोम तामाङ र जीत कुमार मोक्तानको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

गंगा कार्की र शंकर लामा उम्मेदवार नबन्ने
माओवादी केन्द्र दोलखाका संस्थापक नेताहरु गंगा कार्की र शंकर लामाले भने उम्मेदवार बन्न अनिच्छा प्रकट गरेका छन् । माओवादी केन्द्रको केन्द्रिय सचिवालय सदस्य समेत रहेका कार्की र जिल्ला सह ईन्चार्ज रहेका लामाले पार्टी संगठनको भुमिकामा रहने भन्दै उम्मेदवार बन्नवाट पन्छिएका हुन् ।
उनीहरु हालसम्म कुनै राजनितिक लाभको पद नलिने नेताका रुपमा चिनिन्छन् ।

VIEWS: 2162