दोलखा भिमेश्वरको शिलामा १३ औँ पटक पसिना, महाप्रसाद राष्ट्रपतिलाई
साझावोली सम्वाददाता
१० असोज । दोलखा । साक्षात भविष्य सूचकको रुपमा मानिदै आएको ऐतिहाँसिक दोलखा बजार स्थित भिमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा मंगलबार अपरान्ह दुई पटकसम्म पसिना आएको हो । भिमेश्वरको शिलामा पसिना आए मुलुकमा ठुलो परिर्बतन या अनिष्ट हुने विश्वास गरिँदै आएको छ ।
मंगरबार दिउँसो करिव ३ बजेको समयमा लगातार २५ मिनेट र ३ बजेर ५१ मिनेटमा दोस्रो पटक आएको पसिना बेलुकी सवा ५ बजे रोकिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भिमेश्वरको शिलामा पसिना आएको थाहा पाएपछि ठूलो संख्यामा भक्तजनहरु मन्दिर भेला भए । शिलामा पसिना आएपछि स्थानीय भेला भएर घण्टा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर प्रार्थना सहित शिलालाई चम्मरले हम्कने प्रचलन छ ।
परिबर्तन या अनिष्ट ?
शिलाको सवै भाागवाट पसिना आए मुलुकमा ठुलै अनिष्ट हुने, दायाँवाट आउँदा राष्ट प्रमुख तथा सरकार र बाँयावाट पसिना आए जनतामा अनिष्ट हुने जनबिश्वास रहि आएको छ । यो पटक सुरुमा भिमेश्वर शिलाको दायाँतर्फको माथिल्लो भागबाट पसिना झर्न सुरु गरेको थियो । दोस्रो पटक शिलाको सबै भागबाट पसिना आउनुका साथै शिलाको रंग समेत परिबर्तन भएर कालो देखिएको प्रत्यक्षदर्शील बताए ।
यसअघि भिमेश्वरको शिलामा २०७० साल मंसिर ३० र फागुन १३ गते पसिना आएको थियो । यो पटक सहित भिमेश्वरको शिलामा १३ औँ पटक पसिना आएको हो ।
महाप्रसाद राष्टपतिलाई
भिमेश्वरको शिलामा पसिना आएपछि बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा विशेष पुजाआजा गर्ने चलन छ । मंगलबार नै भिमेश्वरको महाप्रसाद राष्टपति विद्यादेवी भण्डारीलाई पठाईएको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल सहितको टोली महाप्रसाद लिएर काठमाण्डौँ गएको हो । उक्त महाप्रसाद राष्टपति विद्यादेवी भण्डारीलाई बुधवार हस्तान्तरण गरिनेछ । प्रजिअ थापाले राष्टपति कार्यालयले दानभेटी र गृहमन्त्रालयले दुई वटा बोका पठाएपछि क्षमापूजा गर्ने गरिन्छ ।
भिमेसनलाई पसिना आउँदा १९९० सालमा महाभूकम्प र १९९७ सालमा चार जना सहिदलाई फाँसि दिईएको विश्वास गरिन्छ । २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य, २०११ मा २०१३ सालमा राजा त्रिभुवनको मृत्यु, २०१८ मा बाढि पहिरो, २०२८ मा राजा महेन्द्रको मृत्यु, २०३५ मा जनमत सँग्रह, २०४५ मा पसिना आउँदा २०४६ सालमा प्रजातन्त्र पुर्न वहाली भएको मानिन्छ । २०५७ सालको माघ १ र १५ गते गरी एकै महिना दुई पटक भिमसेनलाई पसिना आउँदा त्यसको दुई बर्षपछि राजा बिरेन्द्रको बँश समेत विनाश भएको थियो ।
२०६१ सालमा पसिना आएको एक बर्ष पछि २०६२÷६३ को जनआन्दोलन भयो भने २०६४ साल जेठ ५ गते पसिना आएको एक बर्ष पछि २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य भयो । ०७० साल मँसिर ३० र फागुन १३ गते गरी एकै बर्ष दुई पटक पसिना आएको थियो । त्यसको करिव दुई बर्ष पछि २०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी भुकम्प गएर करिव ९ हजार मानिसको मृत्यु भयो । यो भिमेश्वरको शिलामा पसिना आउनु र मुलुकमा यस्ता परिघट्ना हुनु संयोग मात्र नभएको जनविस्वास छ ।