माधव नेपालको गृहजिल्ला रौतहटको सबै स्थानीय तहमा एमाले शुन्य, यस्तो छ कारण,

Friday, September 22nd, 2017 |

६ असोज । काठमाण्डौँ । पुर्ब प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको गृहजिल्ला रौतहटको सबै स्थानीय तहमा एमालेले पराजय बेहोर्नुपरेको छ । नेता नेपाल मतदाता रहेको गौर नगरपालिका सहित सबै स्थानीय तहमा एमालेले पराजय बेहोर्ने करिव निश्चित जस्तै भएको छ ।

गौर नगरपालिकामा एमाले राजपासँग पराजित हुनुपरेको हो । माधव नेपालको आफ्नै वडामा समेत एमालेले जित्न सकेन । पराजयसँगै आसन्न प्रतिनिधिसभा निर्वाचनमा माधव नेपाल रौतहटबाट उम्मेदवार बन्नेमा गम्भिर चुनौती थपिएको छ । रौतहटका १८ स्थानीय तहमध्ये कुनैपनि स्थानीय तहमा एमालेले आग्रता लिन नसकेपछि एमालेले एउटा पनि नजित्ने निश्चित प्राय छ ।

रौतहटको सबै मतपरिणाम सार्वजानिक हुँदासम्म एउटा उपमेयर र केही बडामै एमालेले चित्त बुझाउनुपर्ने देखिन्छ । विगतमा एमालेको गढ मानिएको रौतहटमा स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउनुलाई नेताहरुले अन्तर्घातका रुपमा अथ्र्याएका छन् ।

यस्तो छ, एमाले हार्नुका कारण

आकांक्षीहरुको सही व्यवस्थापन गर्न नसक्नु एमाले हार्नुको एउटा कारण मानिएको छ । चन्द्रपुर नगरपालिकाको मेयरमा पार्टी केन्द्रले बाबुराम दाहाललाई अघि सारेपनि उनीभन्दा पहिल्यै उद्धब रेग्मीले उमेद्वारी दिन भ्याए । सोही बिवादका कारण चन्द्रपुरमा एमाले हार्ने मतदान अगाबै चर्चा चल्यो ।

पार्टीका आधिकारिक उम्मदेवार दाहाल माधव नेपाल पक्षका हुन् भने पराजित रेग्मी केपी ओली पक्षका मानिन्छन् । स्थानीय एमाले नेता कार्यकर्ताले चन्द्रपुरको पराजयको दोष सांसद रामकुमार भट्टराई र केन्द्रीय सदस्य कल्याणी खड्कामाथि लगाएका छन् । नेपालको गृहजिल्लामा ओलीले हस्तक्षेप गरेको आरोप पनि लागेको छ ।

माधव नेपालको घर रहेको गौर नगरपालिकामा उनले मेयरमा शम्भु साहलाई अघि सारे । नेपालले साहलाई भोग मागिरहँदा वर्षौंदेखि पार्टीमा योगदान गरेका नेता कार्यकर्ताहरु असन्तुष्ट बने । नेता नेपालले पार्टीका कार्यकर्ताहरुलाई काखा र पाखाको व्यवहार गरेपछि रौतहटमा एमाले ओह्रालो लागेको नेताहरु बताउँछन् ।

एमाले रौतहट जिल्ला कमिटिमा माधव नेपाल पक्षको बर्चस्व छ । केन्द्रीय नेताहरु वंशीधर मिश्र, सरला यादव, लालबाबु यादव, रामकुमार भट्टराई, कल्याणी खड्का र जिल्ला अध्यक्ष कमल राय यादव सबै नेपाल पक्षकै हुन् ।

VIEWS: 240