पाँच दिनभित्र २ नम्वर प्रदेशको सबै परिणाम सार्वजानिक हुन्छ ः आयोग

Monday, September 18th, 2017 |

२ असोज । काठमाडौं । निर्वाचन आयोगले दुई नम्वर प्रदेशमा पाँचदिन भित्र सबै परिणाम सार्वजानिक गर्ने जनाएको छ । कतिपय स्थानमा आजैबाट र भोलीबाट सबै स्थानको मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने गरी मतगणनाको प्रवन्ध मिलाइएको जानकारी दिएका छन् । उनका अनुसार मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा लैजाने काम भइरहेको छ । प्रदेश २ का १३६ स्थानीय तहमा करिब ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्न भएको छ ।

सप्तरीको राजविराज नगरपालिकाको वडानम्बर १५ मा राजपाका वडा अध्यक्ष उम्मेदवारको निधनका कारण दुई वडामा भने आज निर्वाचन हुन सकेन । अब सो स्थानमा असोज ५ गते निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ ।

VIEWS: 106