दुई नम्वर प्रदेशमा पनि स्थानीय तहको निर्वाचन सम्पन्न, ६ हजार ६ सय २७ जनप्रतिनिधीहरुको टुंगो लाग्दै,
२ असोज । काठमाडौं । स्थानीय तह अन्तर्गत २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचन पनि सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार छिटफुट घटना बाहेक अधिकांश सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । आयोगका अनुसार झण्डै ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई साँझसम्म मतदान गर्न दिइएको जानकारी दिए । मधेस आन्दोलनका कारण यसअघि २ नम्वर प्रदेशमा यसअघि स्थानीय तह निर्वाचन सम्पन्न हुन सकेको थिएन । बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई(तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भई उत्साहजनक रुपमा मतदान भयो ।
यो निर्वाचनबाट प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा जनप्रतिनिधीको टुंगो लाग्दैछ । कडा सरक्षाबीच सम्पन्न भएको मतदानमा केही स्थानमा भने फर्जी मतदाता भेटिए । महोत्तरीमा बिभिन्न मतदान केन्द्रबाट ११ फर्जी मतदाता पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिका साथै राजपा शीर्ष नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा लगायतले पनि मतदानमा सहभागिता जनाए ।