गाउँसभा हुने अघिल्लो रात थबाङ गाउँपालिका प्रमुख अपहरणमा,
३० भाद्र । रोल्पा । रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्तीमगर ‘वियोग’ अपहरणमा परेका छन् । उनलाई बिहीबार राति अपरिचित समूहले अपहरण गरेको प्रहरीले जनाएको छ । शनिबार थबाङमा आयोजना हुने प्रथम गाउ सभाको तयारीमा जुटेका गाउँपालिका प्रमुख घर्तीमगर अपहरणमा परेपछि खोजी कार्य भैरहेको छ ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले गाउपालिका प्रमुख घर्तीको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान कार्यालयबाट सुरक्षाकर्मी खटाइएको जानकारी दिए । तत्कालीन माओवादी लडाकुका पूर्व कमाण्डर रहेका घर्तीमगर गत स्थानीय तहको निर्वाचनबाट गाउँपालिका प्रमुख बनेका हुन् । उनले स्वतन्त्रका तर्फबाट प्रमुखमा उम्मेदवार बनेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अमित घर्तीमगरलाई पराजित गरेका थिए ।
राति आफ्नो ससुराली गाउँतिर जाँदै गरेका बेला प्रमुख घर्ति अपहरणमा परेको बताईएको छ । ‘एक्कासी १० जना जतिको समुहले काम छ भन्दै उनलाई नियन्त्रणमा लिएको परिवारजनले बताएका छन् । उनलाई थबाङको ठूलो गाउ नजिकैको कुइजबाङ गाउँबाट अपहरण गरिएको हो । अपहरणकारीले साथैमा रहेकी गाउपालिका प्रमुख घर्तीकी पत्नी लगायतलाई भने अपहरण गरेका छैनन् ।
शनिबार हुने गाउँसभा विथोल्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले गाउपालिका प्रमुखलाई अपहरण गरेको हुन सक्ने अनुमान गरिएको छ ।