अरु भन्दा यसकारण बलिया छन् बिरगञ्ज महानगरका उम्मेदवार रहबर अन्सारी
साझावोली सम्वाददाता
२६ भाद्र । काठमाण्डौ । स्थानीय तहको निर्वाचन अन्तर्गत दुई नम्वर प्रदेशमा हुने आसन्न निर्वाचनको सरगर्मी निकै तातेको छ । त्यसमा पनि २ नम्वर प्रदेशको एक मात्र महानगर विरगञ्जको मेयरमा कसले बाजी मार्ला भन्ने विभिन्न अड्कलबाजी समेत हुन थलेका छन् ।
मतदानको मिति नजिकिँदै गर्दा राजनितिक दल र तीनका उम्मेदवार निर्वाचनमा जित सुनिश्चित गर्न सबै शक्तिका साथ होमिएका छन् । तिनै उम्मेद्वार मध्येका एक हुन्, रहबर अन्सारी । त्यस क्षेत्रकै अत्यन्तै लोकप्रिय युवा नेता अन्सारीलाई नेकपा माओवादी केन्द्रले मेयरको उम्मेदवारका रुपमा अघि सारेको हो ।
को हुन् रहबर अन्सारी ?
२०४३ सालमा काठमाडौंमा जन्मिएका ३१ बर्षिय मुस्लिम युवा रहबर सबैभन्दा कान्छा उम्मेदवार हुन् । वीरगन्जस्थित गण्डक अस्पतालका निर्देशक समेत रहेका उनले आफ्नो व्यवसायलाई सेवाको रुपमा स्थापित गरे । माओवादी आन्दोलनको बैचारिक धार मन पर्न थालेपछि उनी सात बर्षअघि माओवादी पार्टीमा औपचारिक रुपमा संगठित भएका थिए । अन्सारीका बुवा ए ई अन्सारी सरकारी डाक्टर थिए। अन्सारी बुवाको सरुवा जताजता भयो त्यतैत्यतै गएर आफ्नो अध्ययनलाई निरन्तरता दिए ।
काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरेपछि उनी पढ्न नयाँ दिल्ली गए। दिल्लीबाट कमर्समा प्लस टु सकेका उनले भारतको पुनाबाट बिबिएको पढाइ सके। ‘ब्याचलर्सपछि नेपाल फर्केर भरतपुरको मेडिकल कलेजमा काम गरेको डेढ वर्षपछि उनले आफै आफैं गण्डक अस्पताल सुरु गरेका हुन् । हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नाकोत्तर सकेर आएका छन।
उनी भन्छन्, मुलुकमा स्वास्थ्य सेवालाई विशुद्ध धन कमाउने माध्यम मात्रै बनाईयो, निमुखा गरिबहरुको सुबिधासम्पन्न अस्पतालमा पहुँच भएन, उनीहरुले अकालमै मृत्युबरण गर्नुपर्ने बाध्यता अझै छ, त्यसकारण उनीहरुको जीवनमा केही सेवा गर्ने ध्येयले मैले अस्पताल संचालनमा ल्याएको हुँ । अन्सारी स्वास्थ्य सेवा क्षेत्रसँगै वीरगन्ज रोटरीलगायत विभिन्न संघसंस्थासँग पनि आवद्ध छन्।
यस्ता छन् अन्सारीका चुनाबी एजेन्डा
मेयरको बलिया उम्मेदवारका रुपमा हेरिएका अन्सारीले अन्य उम्मेद्वार जस्तै सस्तो लोकप्रियताको एजेण्डा अघि सारेका छैनन् । मेट्रो रेल र स्मार्ट सिटी भन्दा सामान्य नागरिकको दैनिक जिवनमा परिवर्तन ल्याउने विषय आफ्नो लागि प्राथमिकतामा रहेको उनले बताए । आफ्नो एजेण्डाको सुरुवात मै अन्सारीले वीरगञ्ज महानगरमा एलइडीयुक्त घरहरु हुनुपर्ने, आफू निर्वाचनमा विजयी भएको खण्डमा निशुल्क शव बाहन सेवा उपलब्ध गराउने देखि महानगरपालिकाको तर्पmबाट खेत जोत्नेसम्मका एजेन्डा प्रमुखताका साथ उठाएका छन् ।
अन्सारीले करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने संकल्प गरेका छन्। यस्तै, उनले बहुतले पार्किङ भवन, झुत्रो होइन आधुनिक दमकल सेवा, कम्प्युटराइज्ड केन्द्रीय पुस्तकालय र भर्चुअल लाइब्रेरीको कुरा उठाएका छन्। योसँगै उनले वाइफाइयुक्त स्मार्ट वीरगञ्ज बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यसैगरी, उनले तोड्ने होइन जोड्ने युवाशक्तिको विकास गर्ने योजना बनाएका छन् । अन्सारीले अन्तर्राष्ट्रिय स्तरको स्पोर्ट क्लब बनाउने प्रतिबद्धतामात्र गरेका छैनन्, आफू निर्वाचित भएको खण्डमा घरघरमा सामाजिक भत्ता पु¥याउने आसवासन दिएका छन्। अन्सारीले अनलाइन प्रशासनिक सेवा उपलब्ध गराउने, उन्नत विऊ, खाद्य सहज उपलब्ध गराउने, निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेदेखि गरिब र जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ती उपलब्ध गराउने एजेण्डा प्रमुखताका साथ उल्लेख गरेका छन्।
‘हाम्रोमा काम गर्ने उत्साहभन्दा पनि सधैँ उमेर हेर्न थालिन्छ,’ अन्सारीले भने, ‘मेरो पढाइ र ८ वर्षदेखि अस्पताल चलाएको अनुभवको आधारमा वीरगन्जलाई नामुना महानगर बनाउन सक्छु ।’ वीरगन्जको रैथाने भएकाले यहाँका समस्यासँग परिचित भएको र बाहिरी संसारसँग पनि सम्पर्क रहेकाले आफूले वीरगन्जको विकास गरेर बाहिरी दुनियाँसँग जोड्ने उनको तर्क छ। पछिल्लो समय मधेस आन्दोलनको केन्द्र रहेको वीरगन्जका मतदातालाई आफूले कन्भिन्स गर्नसक्ने उनको दाबी छ।
अन्सारीले हिमाल, पहाड र तराईलाई जोड्ने निति, योजना पनि अघि सारेका छन् । ‘मधेस केन्द्रीत दलले उग्र कुरा गरेर पहाड र मधेसबीच दुरी बढाउन खोजेका छन्’ अन्सारीले भने, ‘उनीहरुले अहिले भनिरहेको मधेस उत्पीडनमा पर्यो भन्ने कुरा माओवादीले उहिल्यै भनेको थियो। त्यस्तो उत्पीडन पहाडमा पनि छ। त्यो हटाउन भन्दै पहाड र मधेसबीच दुरी बढाउनु गलत हो।’
वीरगन्जमा अर्को प्रमुख पार्टीबाट पनि मुस्लिम समुदायकै व्यक्ति मेयरमा प्रस्तावित छन्। संयोगवस बसरुद्दीन र रहबर दुवै चिकित्सा क्षेत्रमै काम गर्छन्। बसरुद्दीनको वीरगन्जमा नेशनल मेडिकल कलेज छ भने काठमाडौंमा पनि अर्को मेडिकल कलेज खोल्न त्रिविबाट हालै उनले विवादस्पद सम्बन्धन पाएका छन्।
विरगञ्ज महानगरमा १५,००० भन्दा धेरै मुस्लिम मतदाता छन्। यो मतलाई आकर्षित गर्नसक्ने उम्मेदवारले जित हात पार्ने एकथरीको आँकलन छ । यी दुईको उम्मेदवारीले मुस्लिम भोट कति बाँडिन्छ भन्ने पनि चासोको विषय बनेको छ।