राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको बारे चिनिँया अधिकारीहरुले दिए यस्तो जवाफ
२४ भाद्र । काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण नगरेको विषयमा चिनियाँ अधिकारीहरुले नेपालले गम्भिर तयारी नगरेको कारण जनाएका छन् । चीन भ्रमणका रहेका परराष्टमन्त्री कृष्ण बहादुर महराले चिनियाँ नेतृत्वले विगत लामो समयदेखि नेपाल भ्रमण नगरेको विषयमा राखेको जिज्ञासामा चिनियाँ अधिकारीहरुले यस्तो जवाफ दिएका हुन् ।
चिनियाँ राष्टपति सिजिन फिङले गत असोजमा नेपाल भ्रमण गर्ने तयारी गरेपनि अन्तिम समयमा रद्द भएको थियो । राष्ट्रपति सीको पहिलो कार्यकाल सकिन लाग्दैछ । तर पनि नेपाल भ्रमण हुन नसकेकोबारे महराले त्यहाँको नेतृत्वसमक्ष गुनासो गर्दै भ्रमणका लागि आग्रहसमेत गरेका छन्। प्रधानमन्त्री ली खछ्याङ, स्टेट काउन्सिलर याङ जेइछी, विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सोङ ताओसँग उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
महराले चीन नेपालको निकट र सदाबहार मित्र हुँदा पनि उच्च राजनीतिज्ञको भ्रमण नभएको विषयलाई उठाएका थिए । चिनियाँ पक्षले नेपालले भ्रमणका लागि गम्भीर तयारी नगरेको उत्तर दिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
‘भ्रमण हुँदा कुनै नयाँ सहमति र लगानीको विषय उठ्न आवश्यक हुन्छ । यसमा गृहकार्य भएर उपयुक्त समयमा भ्रमण हुने जानकारी चिनियाँ नेताहरूले दिएका छन्,’ एक वरिष्ठ अधिकारीले टेलिफोनमा भने । चीनबाट पनि सन १९९६ पछि नेपालमा राष्ट्रपतिको स्तरबाट भ्रमण भएको छैन ।
‘उपप्रधानमन्त्री महरासँगको भेटवार्तामा उहाँहरूबीच दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई विस्तार गर्नेबारे छलफल भएको छ । चीन नेपालको विकासमा सघाउन तयार छ,’ भेटपछि बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अघिल्ला भेटमा पनि दुईपक्षीय सम्बन्ध विस्तार, सञ्जाल सम्पर्क, रेलमार्गलगायत विषयमा छलफल भएको थियो ।’