दोलखाका एनजिओहरुले जनाए भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता
साझावोली सम्वाददाता
२३, भाद्र । दोलखा । दोलखाका गैर सरकारी संस्थाहरुले बढ्दो भ्रष्ट्राचारलाई आगामी दिनहरुमा निरुत्साहित गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।
गैर सरकारी संस्था महासंघ दोलखाले सदरमुकाम चरिकोटमा शुक्रबार आयोजना गरेको कार्यक्रम मार्फत उनीहरुले जिल्लालाई भ्रष्ट्राचारमुक्त जिल्ला बनाउने भन्दै हस्ताक्षर पनि गरे । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेलले समाजमा ब्याप्त भ्रष्टाचार न्युनीकरणको प्रतिवद्धता ब्यवहारमा कार्यान्वयन गर्न गैर सरकारी संस्थालाई आग्रह गरिन् ।
गैसस महासंघ दोलखाका अध्यक्ष धर्मेन्द्र मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीबि मास्केले भ्रष्ट्राचार न्युनीकरणबारे पटक पटक प्रतिबद्धता जनाईएपनि कार्यान्वयन नभएको गुनासो गरे । उनले गैसस महासंघले जिल्लालाई भ्रष्ट्राचारमुक्त बनाउने भन्दै सुरु गरेको हस्ताक्षर संकलनमा हस्ताक्षर पनि गरेनन् ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठक, असल शासन दोलखाका दिपक बस्नेत, गैसस महासंघ दोलखाका अध्यक्ष मोक्तान लगाएतले गैर सरकारी संस्थाहरुबाट केही कमीकमजोरी भएपनि ठुला आरोप लाग्ने गरेको भन्दै यथेष्ट प्रमाण सहित सार्बजानिक गर्न राज्यलाई आग्रह गरे ।