टुकी संघ र सेभ द चिल्ड्रेनको संयुक्त परियोजनाले दोलखामा बनायो झण्डै ५ सय भुकम्पपिडितको घर

Thursday, September 7th, 2017 |

लक्ष्मण थामी


२२ भाद्र । दोलखा । विनासकारी भुकम्पले घर ध्वस्त बनाएपछि कटेरोमा बस्दै आएका दोलखा बैत्यश्वर गाउँपालिका ६ का मिठे विक अहिले नवनिर्मित भुकम्प प्रतिरोधी घरमा सरेका छन् । धेरै छिमेकीका घर बनाउने पत्तो छैन । बनाउन सुरु गरेकाहरुको पनि निर्माण कार्य पुरा हुन सकेको छैन । तर विक परिवार भने पुर्ननिर्माणको काम सकाएर नयाँ घरमा केही महिना अघिदेखिनै ढुक्कसँग बसिरहेको छ ।

ग्रामिण विकास टुकी संघ र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित वालकेन्द्रित समुदायको उत्थानशिलतामा अभिवृद्धि (एसिसिसिआर) परियोजना अन्तर्गत विपद् जोखिम न्युनीकरण परियोजनाले घर निर्माणमा अनुदान सहयोग गरेपछि उनले समयमै भुकम्प प्रतिरोधी घर बनाएर परिवारलाई सुरक्षित गर्न सकेका हुन् । “कटेरोमा बस्दासम्म धेरै कुराको डर थियो, घर कहिले कसरी बनाउने भन्ने ठुलो चिन्ता थियो, तर अब नयाँ घरमा शान्तीले निदाउन पाईएको छ, खुसि ब्यक्त गर्दै उनले भने ।”

tuki &safe the chieldren model house 3

भुकम्प प्रतिरोधी नयाँ घर बनाउन करिव साँढे ५ लाख रुपैँया खर्च भएको उनले सुनाए । त्यसमा परियोजनाको तर्फबाट ३ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गरेको थियो । त्यसबाट घरसँगै सोलार जडान सहित शौचालय पनि निर्माण गरिएको छ । सहयोगी संस्थाले घर पुर्ननिर्माणमा सहयोगसँगै लाभग्राहीहरुलाई विपद्बाट बच्ने उपायबारे चेतनामुलक प्रशिक्षण पनि संचालन गरेको छ । कम्तीमा ७२ घण्टासम्म बाँच्नका लागि चाहिने अत्यावश्यकिय बस्तुहरु सहितको झटपट झोला राख्न लगाईएको छ । बैत्यश्वर ८ कि अर्का लाभग्राही विमला विश्वकर्माले विपत्ती आउँदा झटपट झोलाको महत्वबारे अभिनय गर्दै भनिन्, “अब ठुलै भुकम्प आएपनि त्यत्ति आँत्तिहाल्नु पर्ने अबस्था छैन ।”

tuki &safe the chieldren model house 2

परियोजनाले साबिकका चार गाविसमा रहेका आर्थिक रुपमा बिपन्न, दलित, जनजाति, एकल महिला, बृद्धवृद्धा, अशक्त, अपांगहरुलाई लक्षित गरी विपद् जोखिम न्युनीकरण परियोजना संचालनमा ल्याएको थियो । उक्त कार्यक्रमबाट लाभान्वित गौरीशंकर गाउँपालिका १ जुँगुका अशक्त समेत रहेका बिजुले तामाङले कटेरोबाट नयाँ घरमा बस्न पाउँदा धेरै सजिलो भएको सुनाए ।

सेभ द चिल्ड्रेन दोलखाका कार्यक्रम व्यवस्थापक पुष्पराज मैनालीले जोखिम न्युनीकरण परियोजनाले समाजमा पछाडी परेका भुकम्पपिडित समुदायलाई पुर्ननिर्माणमा ठुलो सहयोग पु¥याएको बताए । “सरकारी अनुदानका घरहरु अझै बनेका छैनन्, तर हामीले घर बनाउनै नसक्ने असहाय, एकल, वृद्धवृद्धा जस्ता समुदायको घर समेत बनाईदिएका छौँ, दावी गर्दै उनले भने ।”

परियोजना मार्फत साबिक नाम्दु, काभ्रे, जुँगु र क्षेत्रपा गाविसमा लक्षित समुदायका करिव ५ सय घरहरु पुर्ननिर्माण गर्दैछ । जसमध्ये करिव ८० प्रतिशत घरको पुर्ननिर्माण कार्य सम्पन्न भैसकेको विपद् जोखिम न्युनीकरण परियोजनाका अधिकृत दिनेश कार्कीले जानकारी दिए । जसमा ११ वटा मोडल हाउस र बाँकी सबै कोर हाउस रहेका छन् । कार्कीका अनुसार सरकारी ईन्जिनियरबाट घर प्रमाणिकरण भएपछि घर निर्माण कार्य सम्पन्न गरेका लाभग्राहीले चेक भुक्तानी लिएका छन् । आगामी नोभेम्वरसम्म बाँकी घरहरुको पुर्ननिर्माण कार्य पनि सकिनेछ ।

अनुगमनमा खटिएका जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेल र ग्रामिण विकास टुकी संघ दोलखाको संचालक समिति सदस्य रिने शेर्पाले परियोजना कार्यान्वयनप्रति सन्तुष्टि ब्यक्त गरे । परियोजना अन्तर्गत आवास निर्माण तर्फ मात्रै ७ करोड ११ लाख रुपैयाँ भन्दा बढि खर्च भएको जनाईएको छ ।

VIEWS: 447