महिला हिंसाको दर्दानक तस्बिर ः लिङ्ग पहिचान र भ्रुण हत्या

Tuesday, September 5th, 2017 |

• रोलिना चौलागाई


नेपाली समाजका केही पुराना व्यक्तिहरुको भनाइ अनुसार ‘छोरी’ शब्द छोडेर जाने सन्दर्भमा उत्पत्ति भएको हो रे । त्यसैले छोरा र छोरी जन्मने बेलाको रुवाइ नै बेगल हुन्छ रे..छोराले यहाँ यहाँ भनेर रुन्छन् रे अनि छोारीले उहाँ उहाँ… भनेर रुन्छन् रे…। यो सामान्य ठट्यौरी होला सायद…। जसरी होस् छोरी भन्नासाथ अलिकति तल्लो दर्जा या पर राखेर कुरा गरिन्छ । छोरो जन्मनासाथ कुलको दियो, वंशको उत्तराधिकारी बनेर जन्मन्छ भने छोरी पराईघर जाने जात भनिन्छ । अझ समाजले रुखबिरुवासँग पनि तुलना गरेर छोरा र छोरीलाई अलग्याएको छ । छोरो ‘सुन्तलाको बोट’ जुन गुलियो हुन्छ र पछि सम्म पनि फाइदा दिइरहन्छ अनि छोरी ‘बन्साको बोट’ जुन छिटो छिटो बढ्ने मौसमी घाँस काटेर गाईवस्तुलाई हालिन्छ र सुकेर जान्छ… ।

समाजले दिएका यी र यस्तै खाले परिभाषा सुन्दा लाग्छ छोरी भन्ने चिज कुनै श्राप पाएर जन्मिएको तत्व हो, जुन तत्वबिना पनि समाज चलाउन सकिन्छ । यदि यस्तो हो भने सांसारिक चक्र चलाउन पितापुर्खाको संस्कार चलाउन, वंशको नयाँ पुस्ता खडा गर्न बाजा बजाएर जन्तीको लर्काे लगाएर, भोज खुवाएर, झ्याली पिटाउँदै ल्याउने जीवको नाम र अस्तित्व चाहिं के हो ?

हिजोआज चाहेर वा नचाहेर एक महिलालाई गर्भजाँच गराउन लगाइन्छ । उसको कोखको बच्चा कस्तो छ भन्दा पनि के छ भन्ने सरोकार राखिन्छ र लिङ्ग छुट्टाईन्छ । वैज्ञानिक अनुसन्धान यति धेरै अगाडि बढिसकेको छ कि मानिसका अङ्गप्रत्यङ्ग फेरेर जीवन दिनेमात्र होइन चामत्कारिक रुपमा यौनाङ्ग नै परिवर्तन गरेर पुरुषले सन्तान जन्माइसकेका छन् । पेटमा रहेको बच्चा कस्तो छ, हातखुट्टा, नाक, मुख, औंला, मुटु, कलेजो, तौल सबै बच्चा बस्ने गुफामा नै हेरेर पत्ता लगाई सर्तक हुन सकिन्छ । यही विज्ञानको दुरुपयोग गरेर उसको लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्नेको संख्या पनि ह्वात्तै बढेको देखिन्छ ।

वर्षेनी छोरी भएको निहुँमा एउटी महिला अपहेलित बनेर अभागी भएको स्वीकार गर्दै आँसुमा बाँचिरहेकी हुन्छिन् । नातिनीहरुलाई वंश नसम्झिने हजुरबाआमाहरुले नै आफ्नो छोरालाई अर्काे विवाह गर्न उक्साइरहेका हुन्छन् भने छोरोवादी संस्कारको उपज पढेलेखेको श्रीमान् पनि निराशा व्यक्त गर्न थाल्छ । बाध्य भएर महिलाहरु आफ्नो श्रीमान्लाई आफूमाथि सौता हालेर भएपनि छोरो जन्माऊ भन्न पुग्छन् । यसो गरिरहँदा ती महिलामाथि कस्तो पीडा खस्छ कसैले अनुमान गरेका हुँदैनन् ।

राजधानी नजिकैको एक गाउँमा चार सन्तान जन्माउँदा पनि छोरी नै भएपछि एक महिलाले आफ्नी साथी आफ्नो श्रीमान्को लागि मागिन्…। विवाहको सबै सामग्री मण्डपमा तयार गरिसकेपछि कोठामा पसेकी तिनी ६ घण्टासम्म बेहोस भईन् तर उनको यो अवस्था देखेर न त उनका श्रीमान् नै दोस्रो विवाहबाट पछि हटे न त परिवार…। विवाह सम्पन्न भयो र विवाहको २ वर्षपछिसम्म कान्छीबाट सन्तान नभएपछि उनी आफैं अन्त हिंडिन्, पुनः पाँचौं सन्तानका रुपमा जेठीले छोरो जन्माएर बल्ल त्यस घरको स्थायी सदस्य र सफल आमा बनिन् । अर्काे एक परिवारमा एक महिलाले आठजना छोरी जन्माउँदा पनि छोरो नजन्मिदा ज्योतिषले जेठी छोरीको विबाह गरेपछि मात्र छोरो जन्मिन्छ भनेकाले हतार हतार केटा खोजेर छोरीको विवाह गरियो नभन्दै संयोगले नवौं सन्तानको रुपमा छोरो जन्मियो । नाति र छोरा सँगसँगै जन्मिए ।

यी हाम्रो नेपाली समाजका साना उदाहरण हुन् । नेपालका पूर्व–पश्चिम, उत्तर–दक्षिणका उदाहरण खोज्ने हो भने यस्ता लाखौं महिलाहरुका दर्दनाक कहानीहरु भेट्न सकिन्छ जो छोरी पाएर वा छोरो जन्माउन नसकेर बाध्यात्मक स्थितिमा जोखिम मोलेर धेरै सन्तान जन्माउन या भ्रुण हत्या गर्नमा सरिक हुन्छन् । एक सामाजिक सञ्जालमा एकजना डाक्टरले आफ्नो नमिठो अनुभव लेखेका छन्, एक गर्भवती महिलाको गर्भको भिडियो एक्सरे गरिरहँदा पाठेघरमा चल्मलाईरहेको सुन्दर बच्चा हेरेर आननदानुभूति लिईरहेका बेला ती महिलाले सोधिन्, “डाक्टर सा‘ब मेरो गर्भमा के छ…?” डाक्टर अलमल्ल परे उनी बोलेनन्, महिलाले शंका मान्दै फेरि बोलिन्, “डाक्टर सा‘ब बच्चा फाल्न कति पैसा लाग्छ ? उनी नाजवाफ बने…।

हाम्रा घर बदलिए, लवाइखवाइ, खाना बदलियो तर पढाइ लेखाइर धनसम्पत्तिले पनि मानिसको सोच बदल्न सकेन । चार छोरा बढी हुँदैनन् तर लगातार जन्मिएका दुई छोरी झिँजो बन्छन् । छिमेकमा एक मानिसका चार छोरा विभिन्न कारणले बितेपछि लगातार उनका तीन छोरी जन्मिए र बाँचे । उनले ती छोरीलाई सन्तान देखेनन् । तीनवटै छोरी अपरेसन गरिएकाले अरु सन्तान जन्माउन पनि सकिएन । छोरा गुमाउनुको वियोगमा उनी दिनरात रक्सी पिउन थाले र अधबैंशे उमेरमा नै उनको मृत्यु भयो । सन्तान नभएर दुःखी हुनुलाई त स्वभाविक मान्न सकिन्छ । सन्तानको जन्म पछि पारिवारिक सम्बन्ध अझ बलियो भएको ठानिन्छ तर काखका छोरीलाई सन्तान नमानिनु ठूलो दुर्भाग्य नै मान्न सकिन्छ ।

समाजले जतिसुकै छोरालाई प्रश्रय दिएपनि सबै छोरा लायक र बलिया हुँदैनन्, सबै छोरी कोमल र निर्बल पनि हुँदैनन् मात्र अवसरको खाँचो हुन्छ । परिवारमा पहिलो सन्तानका रुपमा छोरी जन्मँदा त ठिकै मानिन्छ तर दोस्रो तेस्रो हुँदै गएपछि आमाहरु आफैं आफ्नो सन्तानलाई झर्काे गर्न थाल्छन् रुष्ट बन्दै जान्छन् र राम्रो स्याहार नगरेको पनि पाइन्छ, किनकी तिनै छोरीहरुका कारण अरुको भनाइमा दिनरात उनीहरु मुश्किलले बाँचिरहेका हुन्छन् । यो उनीहरुमा परेको सामाजिक छाप हो । आमालाई सन्तानको माया नलाग्ने सायदै होला… ।

एक महिलाले आफ्नो पाँचौं सन्तानका रुपका छोरी जन्मिएपछि कोही नभएको मौका पारेर उनले डल्ले खुर्सानी पिसेर मुखमा हालिदिईन् र ठूलो सिरकले छोपिदिएर आफू बाहिरतिर अल्मलिएर बसिन् । केही समयपछि अब मरिहोला भनेर आएर हेर्दा मुखभरि फिंज काढेर नानी सिरकबाट सर्दै सर्दै बाहिर निस्किँदै देखेपछि उनको मन भरिएर आयो र समातेर दुध खुवाईन् । अहिले त्यही छोरी ब्याचलर पढ्ने भएको देख्दा उनलाई कहिलेकाहीं आफ्नै छोरीसँग आँखा जुधाउन धक लागेर आउँछ । यस्ता घटनाले हाम्रो समाज र संस्कारका नाममा देखिने दमनका धब्बाहरु सजिलैसँग देख्न सकिन्छ । हामी विभिन्न प्रथाका कुरा गर्छाैं, हकअधिकारका कुरा गर्छाैं, कुनै भूगोल विशेषका कुरीति र संस्कारलाई कम गर्ने कुरा गर्छौं तर कुनै जाति र भूगोलमा मात्र कमजोर मानसिकताका मानिस छैनन् ।

नेपाली समाजमा चिल्लो कार चढेर चिप्लो बाटोमा हुँइकिने मानिसहरुबाट पनि छोरोमोह हटेको देखिँदैन । सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन दिएजस्तै छोरी बचाऊ अभियान नै चलाएर भएपनि छोरी मात्र जन्माउने दम्पतिलाई पुरस्कार वा छोरीहरुलाई पढाइलेखाइको सम्पूर्ण व्यवस्था मिलाईदिए छोरीहरुलाई आफू छोरी हुनुमा र छोरीकी आमा हुनुमा हीनताबोध हुने थिएन कि ? यी बन्साका बोटहरु पनि बेलैमा नकाटिए मौलाएर फैलाउन पाउने थिए । बालविवाह, बहुविवाह, दाइजो प्रथामा पनि सायद न्यूनीकरण हुनेथियो ।

एक निजी अस्पतालमा एक महिलालाई गर्भ जाँच गराउँदा छोरी भएको पुष्टि भएपछि उनले छोरी फाल्ने निर्णय गरिन् तर पछि छोरो भएको थाहा पाएर उनले अस्पताल विरुद्ध उजुरी दायर गरिन् र दुवै पक्ष सजायको भागीदार हुन पुग्यो । जति पनि हिंसाहरु हुन्छन् ती मध्ये अधिकांश हिंसा महिला भएकै भरमा सहनुपरेको देखिन्छ । सरकारी तवरबाट लिङ्ग परीक्षणमा कडाइका साथ रोक लगाउनु पर्छ । सरकारले १२ हप्तासम्मको मात्र गर्भपतन गराउने स्वीकृति दिएको भए पनि छोरीछोरी भएकै कारण २२ हप्तासम्मका गर्भपात लुकिछिपी भएको देखिन्छ । निजी अस्पताल तथा नर्सिङ होममा हुने यस्ता गर्भपतन का कुनै रेकर्ड राखिएका हुँदैनन् तर महंगो फि भने असुलिएको हुन्छ ।

छिमेकी राष्ट्र भारतमा झन् विकराल अवस्थामा हुने गर्भपतनले एक गाउँमा छोरीहरु जन्मिनै छाडे र त्यहाँका गाउँमा अरु गाउँले छोरी पनि दिएनन् । त्यसैले त्यहाका पुरुषहरु अविवाहित बस्न बाध्य भए भन्ने समाचार एक कार्यक्रममा एक टेलिभिजनले प्रस्तुत गरेको थियो । महिला अधिकारका नारा र धारा मात्र बनाएर हुँदैन, संसार देख्न नपाउँदै हत्या हुने नारीहरुको कसले सम्मान र संरक्षण गर्ने ? यसरी लुकिछिपी गरिएका गर्भपतनबाट आमाहरु पनि असुरक्षित हुन्छन् ।

टाउको दुखेको औषधि पेटमा लगाएर उपचार हुँदैन, पहिले दुखेको कारण पत्ता लगाउनु र पहिल्याउनु वेश, दुखिहाले व्यथा चिनेर उपचार गरे मात्र रोग निको पार्न सकिन्छ । वरिष्ठ हास्यकलाकार हरिवंश आचभार्यले आफ्नो पुस्तक ‘चिना हराएको मान्छे’ मा कुनै एक प्रसंगमा लेखेका छन्– हामी सबैको पहिलो घर पाठेघर हो । वास्तवमा पाठेघरलाई नै बिर्सिए हाम्रो सृष्टि कहाँ सम्भव छ ? त्यसैले सबैले यसका सम्मान् गरौं । नीति नियमको संयन्त्र तयार पार्ने अधिकारीहरुले पनि यसलाई गम्भीरताका साथ सोचौं ।

VIEWS: 862