दुई नम्वर प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी पुरा, ६ हजार ६ सय २७ जनाप्रतिनिधी चुनिँदै

Tuesday, September 5th, 2017 |

२० भाद्र । काठमाण्डौँ । स्थानीय तह अन्तर्गत तेस्रो चरणमा २ नम्वर प्रदेशमा हुन लागेको निर्वाचनका लागि भोली उम्मेदवारी दर्ता हुने भएको छ । त्यसका लागि निर्धक्क भएर आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा उम्मेदवारी दर्ता गराउन चाहने सबैलाई ढुक्क भएर उम्मेदवारी दर्ता गर्न आग्रह गरे । आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था मिलाईएको छ ।

उम्मेदवारी दर्तामा कसैले अवरोध ग र्ने, भड्काउने, बाधा व्यवधान खडा गर्ने जस्ता अवान्छित गतिविधि गरेमा सुरक्षाकर्मीले तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्नेमा आयोगले आश्वस्त पारेको छ । प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जना जनप्रतिनिधीका लागि निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि ३१ हजार ५० सय कर्मचारी परिचालन गरिने भएको छ भने ३ हजार ५ सय ७८ मतदान केन्द्र तय गरिएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न र गराउन समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

VIEWS: 194