अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा रञ्जित तामाङ
१७ भदौ, । काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन् । २१ औं राष्ट्रिय सम्मेलनमा पहिलो पटक भएको निर्वाचनबाट तामाङ नेतृत्वमा आएका हुन् ।
झापा घर भएका उनले निकटतम प्रतिद्धन्द्धी रुकुम निवासी अनिल शर्मालाई पराजित गरेका हुन् । अखिल क्रान्तिकारीमा संगठनकै ईतिहाँसमा पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन भएको हो । उपाध्यक्षहरुमा खुल्लातर्फ सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम निर्वाचित भए भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादवले जित हात पारे ।
संगठनको शक्तिशाली पद मानिने महासचिवमा खेमबहादुर सिंहलाई पराजित गर्दै उत्तम अधिकारी निर्वाचित भएका छन् । उपमहासचिव जीपी मैनाली, तुकमान महरा र आशा तमु निर्वाचित भए । तमु सर्वसम्मत रुपमा यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी हुन् ।
संगठनको अर्को महत्वपुर्ण पद कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । विभिन्न क्लष्टहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् ।
नयाँ नेतृत्व चयन गरेसँगै भदौ ७ गतेदेखि सुरु भएको अखिल क्रान्तिकारीको एकताको २१ औँ राष्टिय सम्मेलन सम्पन्न भएको छ ।