पत्रकार महासंघले शुद्धिकरण अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्छ ः महासचिव विष्ट

Saturday, September 2nd, 2017 |

१६ भाद्र । दोलखा । नेपाल पत्रकार महासँघका नवनिर्वाचित केन्द्रीय महासचिव रमेश विष्टले पत्रकार शुद्धिकरण अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।
पत्रकारितामा सक्रिय नरहेकाहरुको सदस्यता खारेज गर्ने र नयाँ सक्रिय पत्रकारहरुलाई महासंघको सदस्यता दिलाउने तर्फ महासंघ केन्द्रित भएर लाग्ने उनले बताए । दोलखा सदरमुकाम चरिकोटमा आयोजित अग्रज पत्रकार स्वर्गिय देवदास श्रेष्ठ स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै महासचिव विष्टले पेशामा नभएका पत्रकारहरुको शुद्धिकरण गरेर मात्रै पत्रकार महासंघलाई कमजोर हुनबाट बचाउन सकिने बताए ।
उनले महासँघको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सदस्यता सुद्धिकरण गर्ने निर्णय गरेको स्मरण गर्दै उनले कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गरे । नयाँ संरचना अनुसार पत्रकार महासँघको संरचनालाई पनि बदल्ने सहित महासँघका सबै सदस्यले केन्द्रीय नेतृत्व चुन्न पाउने गरी विद्यान संशोधन गर्ने तयारीमा महासंघ रहेको जानकारी पनि उनले गराए ।
देवदास पत्रकारिता पुरस्कारबाट पोखरेल सम्मानित
पत्रकार महासंघले हरेक वर्ष प्रदान गर्दै आएको स्वर्गिय देबदास पत्रकारिता पुरस्कारबाट यो पटक नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष उद्धव प्रसाद पोखरेल सम्मानित भएका छन् । पत्रकार महासंघ दोलखा शाखाले आयोजना गरेको देवदास स्मृति सभाको अवसरमा पोखरेललार्ई उक्त पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा महासँघका केन्द्रीय महासचिव रमेश विष्टले पोखरेललाई नगद १० हजार सहित प्रमाणपत्र हस्तान्तरण गरे ।
पुरस्कार ग्रहण गरेलगत्तै पोखरेलले आँफुले पाएको पुरस्कारबाट ५ हजार ५ सय रुपैयाँ महासँघको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन् । सोही कार्यक्रममा दोलखा घर भई पत्रकार महासँघको केन्द्रीय सदस्यमा निर्वाचित टेकराज थामी पनि सम्मानित भएका छन् ।
पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षता भएको देवदास स्मृति सभामा स्वर्गिय देवदास श्रेष्ठले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

VIEWS: 259