प्रदेशसभा र प्रतिनिधीसभा गरी झण्डै ५ सय निर्वाचन क्षेत्र निर्धारण गर्ने तयारी

Monday, August 28th, 2017 |

१२ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका गरी झण्डै ५ सय निर्वाचन क्षेत्रको प्रतिवेदन तयार गरेको छ ।
आयोगले कुल ४९५ वटा निर्वाचन क्षेत्र र त्यसको नक्सासहितको प्रतिवेदन तयार पारेको हो । आयोगका प्रवक्ता बगेन्द्रराज पौडेलले निर्वाचन क्षेत्रका नक्सा बनाउने कार्य जारी रहेको र उक्त काम सकिएलगत्तै प्रतिवेदन बुझाउने तयारी भैरहेको जानकारी दिए ।

आयोगलाई निर्वाचन क्षेत्र निर्धारणका यहि भदौ १४ सम्मको समयसिमा दिईएको छ । आयोगका अनुसार प्रतिनिसिभाका १६५ र प्रदेशसभाका ३३० गरी जम्मा ४९५ निर्वाचन क्षेत्र निर्धारण भएका छन् ।
आयोग उच्च स्रोतका अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लाका १५ निर्वाचन क्षेत्र यथावत राखेर प्रदेशसभामा उपत्यकाभित्रबाट ३० क्षेत्र तय गरिएको छ । पछिल्लो समय थपिएका २ जिल्ला रुकुम र नवलपरासीको आधा भागलाई एउटा जिल्ला मानेर प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण गरिएको स्रोतको भनाइ छ ।

नयाँ निर्वाचन क्षेत्रहरु तराई तथा शहरी क्षेत्रका जिल्लामा २ भन्दा बढी छन् भने अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा एउटै निर्वाचन क्षेत्र कायम गरिएको स्रोतको दावी छ ।
जसअनुसार हाल २ वटा निर्वाचन क्षेत्र रहेका पहाडी जिल्लाहरुमध्ये अछाम र दैलेखबाहेक सबै जिल्लाहरु एक एकवटा निर्वाचन क्षेत्रमा सीमित हुनेछन् । ती जिल्लाबाट प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई सांसद निर्वाचित हुनेछन् ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र काठमाडौं १० र मोरङमा ६ निर्वाचन क्षेत्र कायम गरिएको छ ।
हाल ७ निर्वाचन क्षेत्र रहेका झापा, धनुषा लगायतका जिल्लामा ५ निर्वाचन क्षेत्र कायम गरिएको छ । हाल ४ निर्वाचन क्षेत्र रहेका काभ्रेपलान्चोक, मकवानपुर लगायतका पहाडी जिल्लामा ३ निर्वाचन क्षेत्रमा झार्ने तयारी भएको स्रोतले जनाएको छ । त्यसैगरी हाल ३ वटा निर्वाचन क्षेत्र रहेका स्ुर्खेत, धादिङ, बागलुङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर लगायतका जिल्लामा पनि अब प्रतिनिधिसभा २र२ क्षेत्रका हुनेछन् ।

सबैभन्दा बढी निर्वाचन क्षेत्र ३ नम्बर प्रदेशमा ३३ निर्वाचन क्षेत्र कायम भएको स्रोतले जनाएको छ ।

VIEWS: 372