दोलखाको बत्तीमुनिको अँध्यारो गाउँ……..?
रोलिना चौलागाई
नेपाली समाजमा एउटा प्रचलित उखान छ, ‘नजिकको तीर्थ हेला’…। काठमाडौंको वासिन्दालाई पशुपतिनाथको मन्दिर सामान्य लागेजस्तै पोखराको मानिसलाई तालबाराही सामान्य लाग्न सक्छ, त्यस्तै दोलखाको मानिसलाई भीमेश्वर मन्दिर सामान्य लाग्न सक्छ । सबै ठाउँको बराबरी महत्व र मान्यता भएपनि हामी टाढाको वस्तुलाई सुन्दर र महत्वपूर्ण ठान्छौं । कहिलेकाहीं कम महत्व दिएका वस्तुहरु पनि मूल्यवान् सावित हुन सक्छन् ।
प्रसङ्ग हो, दोलखा जिल्लाको सदरमुकाम चरिकोटसँगै जोडिएको गाउँ जिलुको…। विगत १० वर्षसम्म सामान्य लाग्ने चरिकोट बजार हाल सुविधा सम्पन्न शहरमा परिणत भईसकेको छ । राजधानी काठमाडौंबाट १ सय ३३ कि. मि. को दूरीमा रहेको चरिकोट बजारलाई प्रायः व्यस्त बजारकै रुपमा लिन सकिन्छ । चिसो हावापानी, नजिकै लहरै देखिने गौरीशंकर हिमाल लगायतका हिमालहरुको मनोरम दृश्य, चर्चित भीमेश्वर र कालिञ्चोक मन्दिर जाने बाटो, दर्जनौं सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, कलेज, अस्पताल, सुविधाजनक होटल, अपर तामाकोसी विद्युत परियोजनाको प्रवेशमार्ग लगायतका विशेषताहरुले पनि चरिकोट सदरमुकाम महत्वपूर्ण र आकर्षक छ । चरिकोट बजारलाई आजको भव्य बजार बन्नमा नजिकै जोडिएको गाउँ जिलुको पनि ठूलो योगदान मान्न सकिन्छ ।
यो कुनै सानो टोल र थोरै वस्ती भएको गाउँ नभएर विभिन्न जातजाति र धेरै समुदायको बसोवास क्षेत्र पनि हो । यो गाउँ भीमेश्वर नगरपालिका बन्नुपूर्ण चरिकोट गाविसको वडा नम्बर ६, ७, ८ र ९ मा विभाजित थियो, हाल आएर भीनपा ४ मा सम्पूर्ण गाउँ समेटिएको छ । चरिकोट हिउँ खस्ने सामान्यतया मकै र कोदो मात्र फल्ने ठाउँ हो भने जिलु लगभग तराईका भू–भागमा फल्ने खाद्यान्न, तरकारी तथा फलफूल उब्जनी हुने ठाउँ हो ।
अहिले चरिकोटका लागि विभिन्न गाउँबाट व्यवसायिक रुपमा तरकारी खेती गरी ढुवानी गरिए तापनि साविकको चरिकोट गाविस हुँदा र नगरपालिका बनेको धेरै वर्षसम्म पनि जिलुमा उत्पादित दुध र तरकारीले चरिकोट पालिएको थियो भन्न मिल्छ । तर सदरमुकामसँग जोडिएको गाउँ नगरपालिका बनेको वर्षौं बितिसक्दा पनि न त मोटर बाटोको हिसाबले सुगम छ न त त्यहाँको उर्वर माटोमा आधुनिक कृषि प्रणालीबाट खेतीको सुरुवात् नै गर्न सकिएको छ । न त खानेपानीका धाराहरुको राम्रो व्यवस्था छ, न त सिँचाइको कुलो प्रत्येक गाउँमा पु¥याउन सकिएको छ । वर्षेनी नगरपालिकाले छुट्याउने बजेट यत्तिका वर्षसम्म कहाँ गयो न कुनै खोजीनीति छ न त आफ्नो गाउँ आफैं बनाऔं भनेर यस गाउँका मानिसहरु नै जागरुक भएको देखिन्छ ।
नियमित रुपमा मोटरको व्यवस्था नहुने र मोटर बाटो पनि सहज नभएका कारण अझैपनि दुधको गह्रौं भारी र तरकारीको भारी टाउकोमा बोकेर नाक ठोक्किने उकालो बाटो हिँड्न बाध्य छन् जिलुबासीहरु…। हाल टहले भन्ने ठाउँमा सञ्चालित दुग्ध उद्योगबाट बनेका सामग्रीहरु पनि पक्की सडक र ढुवानीको समस्याले समयमा चरिकोट सदरमुकाम पु¥याउन सकिँदैन । सदरमुकाम तथा नगरपालिकासँग गाँसिएको यो गाउँ किन अँध्यारोमा नै चलिरहेको छ त ? आफ्नो गाउँ छाँयामा पर्नुमा यहाँको नेतृत्वको अपारदर्शीता यास्थानीय जनसमुदायको हेलचेक््रयाईं?
समग्रमा हेर्दा जिलु गाउँका वासिन्दा आफंै पनि आफ्नो गाउँ विकासका लागि मरिमेटेको देखिँदैन ।
गाउँको लागि केही गरौं भनेर अघि लाग्ने अगुवाहरुलाई पनि साथ नदिने र गएको बजेटको समेत किचलोका कारण शीर्षक अनुसारको काम हुन नसक्दा बजेट फ्रिज गएका घटनाहरु छन् । स्थानीयका अनुसार सिँचाइका लागि लगिएको पाइप टुक्रा पार्दै चोरी गर्ने, सडक विस्तारमा भाँजो हाल्ने र धारा निर्माणका लागि समेत सही ठाउँ चुन्न नसक्दा केही टोलहरुको आर्थिक वर्ष ०७२÷०७३ को बजेट समेत फ्रिज गएको छ । सुनजस्तो अन्न फलाउन र व्यवसायिक रुपमा नै तरकारी फलाउन सकिने उर्वर माटो भएको गाउँ जिलुलाई सम्बन्धित निकाय र स्थानीय समुदाय एक भएर कृषि प्रणालीमा आधुनिकीकरण ल्याउन सके चरिकोट सदरमुकामलाई धान्न सक्ने गरी उत्पादनमा वृद्धि ल्याउन सकिन्छ र अन्य जिल्लाको तरकारी तथा दुध आयातलाई न्यूनीकरण गर्न सकिन्छ ।
कामको खोजीमा भांैतारिएका स्थानीय युवाहरुलाई पनि आफ्नै घरगाउँमा बसेर व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न संिजलो हुन्छ । हालसम्म ककस्ले नेतृत्व गरे, बजेट कहाँ गयो, बजेट विनियोजनको अनुपातमा गाउँ विकास कति भयो भन्ने कुरालाई विश्लेषण र बहसमा राख्दै अघिल्लो नेतृत्व चुकेको र ध्यान नपुगेका ठाउँहरुका सन्दर्भमा भर्खरै स्थानीय चुनावले चयन गरेको नयाँ नेतृत्वले कस्तो निति, योजना र कार्यक्रम अख्तियार गर्ला हेर्न बाँकी छ ।
पुर्ननिर्माण प्राधिकरणले हालै जिलुलाई एकिकृत नमुना बस्तीको रुपमा निर्माण गर्ने योजना त स्वीकृत गरेको छ, तर बस्ती विकाससँगै सर्वसाधरणको जिविकोपार्जनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार विकासको दिर्घकालिन मार्गचित्र बनाएर कार्यान्वयन गर्न सकेमात्रै नयाँ नेतृत्वको सफलताले सार्थकता पाउनेछ ।