सवारी साधनको व्यवस्थापन र अपराध नियन्त्रणका लागि पहिलो पटक ईम्वोस्ड प्रणाली सुरु

Monday, August 21st, 2017 |

साझावोली सम्वाददाता


५ भाद्र । काठमाण्डौँ । नेपालमा पहिलो पटक हाई सेक्युरिटी ईम्बोस्ड नं. प्लेट प्रणाली सोमबारदेखि लागु गरिएको छ । सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले लागु गरिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिन सकिन्छ ।

जसबाट सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सजिलो हुनेछ । अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई यो प्रणाली लागु गर्न ठेक्का दिइएको थियो । आगामी पाँच वर्षभित्र २५ लाख सवारीसाधन सो प्रणालीमा व्यवस्थित गर्ने लक्ष्य राखिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा ९९ प्रतिशत एल्मुनियम तथा विद्युतीय चिप्स राखिने हुँदा सवारीसाधन नं टाढाबाट समेत देख्न सकिन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सोमबार यो प्रणालीको समुद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यातायात क्षेत्रमा सो प्रविधिको प्रयोगले नयाँ आयाम थपेको र अब अन्तर्राष्ट्रिय मापदण्डमा यातायातको व्यवस्थापन गर्न सकिने बताए ।

नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नं प्लेटलाई अब पाँच प्रकारको नं प्लेटमा सीमित गर्ने व्यवस्था मिलाइएको विभागका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार सवारीसाधनमा इम्बोस्ड नं प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना पूर्णरुपमा नियन्त्रण हुनेछ ।

विभागले यो नं प्लेट राखेवापत राजश्ववापत सेवाग्राहीबाट ठूला सवारीका लागि रु तीन हजार ६००, चारपांग्रे सवारीका लागि रु तीन हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि दुई हजार ९ सय रुपैयाँ र मोटरसाइकलका लागि दुई हजार ५ सय रुपैयाँ दस्तुर निर्धारण गरेको छ । यसको प्रयोगपछि दुर्घटना भएमा छिटो छरितो घाइतेको उद्धार समेत हुन सक्ने विस्वास गरिएको छ ।

VIEWS: 399