माओवादी केन्द्र दोलखाले वैकल्पिक जनपरिषद् गठनदेखि वाईसियललाई लडाकु चरित्रको बनाउँदै

Sunday, August 20th, 2017 |

साझावोली सम्वाददाता

४ भदौ । दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले वैकल्पिक शक्तिको रुपमा जनपरिषद् निर्माण गर्ने योजना अघि सारेको छ । संगठन सुदृढीकरणका लागि घोषणा गरिएको एक महिने अभियानका क्रममा स्थानीय तहको अनुगमन तथा जनताको पक्षमा काम गर्न भन्दै माओवादी केन्द्रले जनपरिषद निर्माण गर्ने योजना बनाएको हो । जनपरिषदलाई उसले वैकल्पिक शक्तिको रुपमा परिभाषित गरेको छ ।

माओवादीले तत्कालिन सशस्त्र जनयुद्धका क्रममा राज्यसत्ताको समानान्तर सत्ताको रुपमा जनसरकार (जनपरिषद) को अभ्यास गरेको थियो । जिल्लाको ९ वटा मध्ये ७ वटा स्थानीय तहमा प्रतिपक्षको भुमिकामा पुगेको माओवादी केन्द्रले पुनः जनपरिषदको सांगठनिक संरचना खडा गर्न लागेको हो । माओवादी केन्द्रले एक महिने अभियानका लागि तयार पारेको निर्देशिका अनुसार स्थानीय तहमा निर्वाचित र प्रत्यासिहरु रहनेगरी जनपरिषद गठन गरिनेछ । त्यसका लागि उनीहरुको भेला आयोजना गरी तल्लो तहसम्म कार्यान्वयन हुनेगरी कार्यक्रम बनाउने बताईएको छ ।
माओवादी केन्द्र दोलखाका सह ईन्चार्ज बिशाल खड्काले स्थानीय तहमा हुने सम्भावित भ्रष्टाचार र अनियमितता रोक्दै पारदर्शितासहित सुशासन कायम गर्न यस्तो निर्णय गरिएको बताए ।

जनयुद्धका शहिदहरु रीतबहादुर खड्का “प्रताप” र कृष्ण प्रसाद दाहाल “कृपाश्वर” को नाममा चलाईने एक महिने संगठन सुदृढीकरण अभियानको नारा “रीतबहादुर–कृपाश्वरको महानता हामी सबै संगठन सुदृढीकरणको अभियान्ता” भन्ने राखिएको छ । माओवादी केन्द्रको गत साउन २९ देखि ३१ गतेसम्म बसेको सचिवालय बैठकले स्थानीय तहमा हुने भ्रष्टटाचार, अनियमितता, नियन्त्रणको लागि भन्दै वाईसियललाई लडाकु चरित्र सहित व्यवस्थित संगठनमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ ।

जसका लागि यही भदौँमा वाईसियलको विस्तारित बैठक तथा प्रशिक्षण संचालन गर्ने र टोलस्तरसम्म संगठनको जालो विस्तार गर्दै एक संगठन, एक सृजनात्मक संघर्षको कार्यक्रमसहित वाईसियलको गौरवपूर्ण लडाकु चरित्रलाई पुर्नस्थापित गर्ने निर्देशिकाको योजनामा उल्लेख छ ।

बैठकले तहगत रुपमा विशेष राजनितिक बैचारिक प्रशिक्षणात्मक कार्यक्रम संचालन गर्ने, एक तह, एक उत्पादनको अवधारणामा संगठन अघि वढाउने, सुख र दुख दुबैमा राम्रो, सबैको साथी माओवादी हाम्रो, भन्ने नारा सहित जनताको घरदैलोमा पुग्ने निर्णय पनि गरेको छ । यस्तै भदौ १० भित्र सवै गाउँ नगरपालिकाको भेला बैठक सम्पन्न गर्ने, एक संगठन एक तह, एक विशेष कार्यक्रम संचालन गर्ने लगाएतका योजनाहरु पनि बनाईएको छ ।

अभियानले संगठनको संजाल व्यापक बनाउँदै जनसम्बन्ध सुदृढ गर्ने माओवादी केन्द्र दोलखाका संयोजक गोपाल पाण्डेले बताए ।

VIEWS: 1821