स्थानीय तहको निर्वाचनमा दोलखामा ७ हजार भन्दा वढिले भोट हाल्न पाएनन्

Thursday, August 17th, 2017 |

बिनोद कुमार खड्का

१, भदौ । दोलखा । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनमा दोलखामा सात हजार भन्दा वढि नागरिक मतदान गर्नबाट वञ्चित भएको पाईएको छ ।

मतदानका लागि योग्य (वालिग) भएपनि मतदाता नामावलीमा नाम नभएकै कारण यति धेरै नागरिक आफ्नो प्रतिनिधि चयन गर्ने अवसरबाट बञ्चित भएका हुन् । निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनका लागि दिएको एक महिनाको अवधीमा ७ हजार भन्दा बढिले आफ्नो नाम दर्ता गराएपछि यो तथ्य पुष्टि भएको छ ।

जिल्ला निर्वाचन कार्यालयकाको बुधवारसम्मको तथ्याङ्क अनुसार नामावली संकलन सुरु भएको साउन १ देखि ३२ गतेसम्म ७ हजार ३ सय ३३ जनाले नाम दर्ता गराएकोमा ३ हजार ७३ महिला र ४ हजार २ सय ६० जना पुरुष छन् । जसमा गत वैशाख ३१ पछि मतदानका लागि योग्य मतदाता न्युन छन् । अन्य मतदाता त्यसभन्दा अगावै मतदानका लागि योग्य भैसकेका हुन् । तर उनीहरुको नामदाता नामावलीमा नाम दर्ता नहुँदा स्थानीय तहको निर्वाचनमा मतदानबाट वञ्चित भए ।

२०६४ सालको दोस्रो संविधनसभाको निर्वाचनपछि मतदाता नामावलीको अद्यावधिक प्रभावकारी नहुनु, सुचना, प्रचार प्रसार र जनचेतनाको कमी, राजनितिप्रति जनतामा छाएको निराशा लगाएतका कारण यस्तो अबस्था आएको हो । रोजगारीका शिलशिलामा विदेशमा रहेकाहरुले पनि भोट हाल्न पाएनन् । निर्वाचन आयोगले पहिलो चरणमा साउन १ देखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयर दोस्रो चरणमा प्रत्येक स्थानीय तहबाट समेत नामावली सँकलनको व्यबस्था गरेको थियो ।

समयावधी बढाईयो
निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनको म्याद तिन दिन थप गरेको जनाएको छ । यसअघि साउन मसान्त सम्मको मात्रै समय तोकिएकोमा आगामी भदौ ३ गते सम्म थप भएकाले आगामी भदौ ३ गतेसम्म छुटेकाले आफ्नो नाम दर्ता गर्नसक्ने जिल्ला निर्वाचन अधिकारी सच्युतराज उप्रेतीले बताए ।

VIEWS: 253