नेपाल र चीन सरकारबीच नयाँ सम्झौता, बाढिपहिरो पिडितका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा
३० साउन, काठमाडौं । नेपाल र चीनियाँ अधिकारीहरुले पुर्ननिर्माण लगाएत तीन वटा सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरे स्थित पुल निर्माणका लागि पनि अनुदान रकम खर्च गरिनेछ ।
यस्तै, हिमाल, पहाड र तराईमा पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ ।
यसैबीच वार्ताका क्रममा नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । त्यसमा कृषिको आधुनिकीकरणलगायत विषय समेटिएका छन् । नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य मन्त्रालयका सचिवले सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहअघि भएको द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन गरेको आग्रहमा चीन सकारात्मक देखिएको छ । त्यसका लागि अनुदान सहायता अरनिको राजमार्गको स्तरोन्नतीका लागि खर्च गर्ने सहमति जुटेको अधिकारीहरुले बताएका छन् ।
यसैबीच चीन सरकारले नेपालमा हालै बाढीपहिराबाट ठुलो जनधनको क्षेतिप्रति दुख व्यक्त गरेको छ । उसले बाढिपहिरोबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहात सहयोगको घोषणा समेत गरेको छ ।
राजधानीमा मंगलबार शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेका हुन् । बाढिपहिरोका कारण नेपालमा ठुलो जनधनको क्षेतिपछि पहिलो पटक चीन सरकारका तर्फबाट यति ठुलो राहत रकम घोषणा भएको हो ।
बार्तामा नेपालका तर्फबाट उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदार, उपप्रधान एवं परराष्टमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन् ।