नयाँ शक्तिका १५ नेताको पत्रकार सम्मेलन ः देबेन्द्र पौडेलसहितका नेताले पार्टी छाड्लान ?
२६ श्रावण । काठमाडौँ । नयाँ शक्तिका बरिष्ठ नेता देवेन्द्र पौडेल लगायत १५ जना नेताहरुले पार्टीको लाईनप्रति तिव्र असन्तुष्टि जनाएका छन् ।
बिहिवार राजधानीमा पत्रकार सम्मेलन मार्फत उनीहरुले संयोजक बाबुराम भट्टराईले लिएको ‘लाइन’ प्रति असहमति जनाउँदै पार्टी छाड्ने संकेत दिएका हुन् । पत्रकार सम्मेलनमा भट्राईको दस्तावेजको विरोध गर्दै पार्टी सुधारका लागि भन्दै १० बुँदे अपिलसमेत जारी गरिएको छ ।
पौडेल समुहले पत्रकार सम्मेलन गर्ने सार्वजानिक भएपछि पार्टी परित्याग गर्ने चर्चा समेत चलेको थियो । तर, पौडेलले आफूहरुले पार्टीको सुधारका लागि मात्रै पत्रकार सम्मेलन आयोजना गरेको दावी गरे । पार्टी छाड्ने भन्दा पनि हामीले पार्टीमा नयाँ बहस शुरु गर्न लागेका हौँ, पत्रकार सम्मेलनमा पौडेलले भने।’
पार्टीले लिएको लाईन र दस्तावेज अमुर्ति रहेको पनि नेता पौडेलले आरोप लगाए । सम्बृद्धि र पाँच ‘स’ को कुरा गरेर मात्र हुँदैन, कसको लागि सम्बृद्धि, कस्तो सम्बृद्धि त्यो स्पष्ट हुनुपर्यो उनले भने।’ नेता पौडेलले बाबुराम भट्टराई सीमित एकाडेमिक व्यक्तिहरुको घेराबन्दीमा परेको पनि आरोप लगाए । ‘हामी बाबुराम भट्टराईलाई नेता बनाउन चहान्छौँ, पौडेलले थपे तर, यसरी सीमित घेरामा बसेर हुँदैन ।
पौडेलले नयाँ शक्तिसहित परिवर्तनकारी शक्तिहरुबीच ध्रुवीकरण हुनुपर्नेमा पनि जोड दिए । ‘प्रचण्ड, बाबुराम, किरण, विप्लव, उपेन्द्र, जनजातिहरुको ध्रुवीकरण हुनुपर्छ भन्नेकुरा बाबुरामजीले बुझ्नुपर्छ । नत्र परिवर्तन सम्भव छैन,’ उनको भनाई थियो ।
जारी अपिलमा पौडेलसहितमहेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, हिसिला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवारले हस्ताक्षर गरेका छन् ।