यसरी फितलो बन्यो “कालिञ्चोक चौँरी महोत्सव”

Tuesday, August 8th, 2017 |

साझावोली सम्वाददाता ।

२४ श्रावण । दोलखा ।  तिव्र असन्तुष्टि र आलोचनाकाबीच कालिञ्चोक चौरी महोत्सव २०७४ सोमवार सकिएको छ । चौँरी महोत्सव आफैमा राम्रो योजना भएपनि एमाले बाहेकका राजनितिक दलको असहयोग र आयोजकले सवै पक्षसँग पर्याप्त समन्वय नगरेपछि महोत्सव भनेजस्तो भने हुन सकेन ।

आयोजक कालिञ्चोक गाउँपालिकाले महोत्सव उपलव्धीपुर्ण भएको दावी गरेको छ भने विपक्षीहरुले सामाजिक संजालमा तिव्र असन्तुष्टि पोख्दै महोत्सवको उपलब्धी माथि प्रश्न उठाएका छन् । कालिञ्चोक क्षेत्रको पर्यटन र लोप हुदै गरेको चौरी व्यवसायको प्रवद्र्धनको उदेश्य सहित आयोजना गरिएको महोत्सवमा गाउँपालिकाले किसान कार्ड वितरण देखि ५ वर्षमा २ हजार किसानलाई पुर्ण व्यवसायी वनाउने कार्यक्रम पनि घोषणा गरेको छ । पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उत्घाटन गर्ने भनिएपनि प्रतिकुल मौसमका कारण भन्दै महोत्सवको पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलबाट उद्घाटन गरिएको थियो ।

दोहोरो राजनितिले फितलो बन्यो महोत्सव

चौँरी महोत्सवलाई एमाले बाहेक अन्य राजनितिक दलका स्थानीय नेता कार्यकर्ताहरुले बोलेरो र भेडा महोत्सव जस्तो भएको भन्दै समाजिक संजालमा मजाक गरे ।

उनीहरुले महोत्सव गाउँपालिकाको नभई एमालेको मात्र भएको र महोत्सवको नाममा राज्यको सम्पति दुरुपयोग भएको आरोप लगाउँदै विरोध गरेका छन् । नेपाली काग्रेस दोलखाका सचिव सन्तोष रिमालले महोत्सवलाई गाउँपालिकाले एमालेको राजनितिक प्रचारको माध्यम बनाएको आरोप लगाए । यस्तो तरिकाले राज्यकोष सक्ने र एउटा पार्टी विशेषको अभिष्ट पुरा हुने हुन्छ, उनले भने आगामी दिनमा कार्यक्रमलाई सर्वस्वीकार्य बनाईयोस् ।

chauri mahotsab (2)
chauri mahotsab

एमाले बाहेकका राजनितिक दलका जिल्ला स्तरिय नेताहरु निम्तो नभएको भन्दै महोत्सवमा नगएपछि उद्घाटन समारोहको मञ्च प्रायः सवै एमाले नेताहरुले भरिएको थियो । महोत्सव स्थल पुगेका कतिपय काग्रेस, माओवादी, माले, नयाँ शक्ति लगाएत दलका नेता कार्यकर्तापनि चर्को असन्तुष्टि पोख्दै त्यत्तिकै फर्किएका थिए ।
चौरी महोत्सव पर्यटन तथा लोप हुदै गरेको चौरीपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि महत्वपुर्ण आधारशिला बन्नसक्ने विज्ञहरु बताउँछन् । तर नेपालमै सम्भवतः दोस्रो पटक आयोजना गरिएको कालिञ्चोक चौँरी महोत्सव भने विवादित बनाईएको छ । महोत्सवमा एमाले बढि हावी हुन खोज्ने र अन्य राजनितिक दलहरु विरोधमा उत्रिने प्रवृत्तीले महोत्सव फितलो बनेको हो ।

तयारी र समन्वयमा चुक्यो आयोजक
गाउँपालिकाले आफ्नो गाउँसभाबाट चौँरी महोत्सव गर्ने घोषणा गरेको धेरै पछि अर्थात महोत्सव मितिको डेढ साताअघि मात्रै महोत्सवको तयारी थाल्यो । एकातिर सडक र मौसमको प्रतिकुलता छँदै थियो, त्यो भन्दा ठुलो चुनौती जिल्ला स्थित सवै राजनितिक दलहरुसँग आवश्यक समन्वय गरेर महोत्सवलाई साझा थलो बनाईनुपर्थ्यो । तर आयोजकले स्थानीय स्तरका केही राजनितिक दलका प्रतिनिधि, कृषक र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई समेट्दा महोत्सव सफल हुने ठान्यो ।

आयोजकले जिल्ला स्थित सवै संगठन सम्वद्ध पत्रकारहरुसँग समन्वयको आवश्यकता महसुस नगरेपछि महोत्सवबारे थप नकरात्मक विषयहरु वाहिर आयो । कालिञ्चोक गाउँपालिकाकै संचारकर्मी र प्रभावशाली नेताहरुसँग समन्वय भएको भए, महोत्सवको अर्कै माहोल वन्थ्यो, स्थानी कृषक तथा व्यवसायी बताउँछन् ।

गाउँपालिकाका पदाधिकारीबीचनै समन्वय भएन
स्रोतका अनुसार महोत्सव आयोजक कालिञ्चोक गाउँपालिकाका पदाधिकारीबीचनै महोत्सवको व्यवस्थापनबारे मतभेद थियो । गाउँपालिका प्रमुख र उपप्रमुख बीच कतिपय व्यबस्थापकिय पाटोमा विवाद थियो । पत्रकार, राजनितिक दल लगाएत अन्य सरोकारवाला पक्षसँग मजबुत समन्वय गर्ने कि सामान्य औपचारिकता पुरा गर्ने ? भन्ने सन्दर्भमा उनीहरुबीचनै मतभेद हुँदा महोत्सवको आन्तरिक व्यवस्थापन थप प्रभावित बनेको गाउँपालिका स्रोत बताउँछ ।

आयोजक गाउँपालिका भनिएको थियो तर आयोजक मुल समारोह समिति कालिञ्चोक गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष मानसिंह थामीलाई बनाईयो । जसका कारण वडा नम्वर १ का जनप्रतिनिधिहरु रुष्ट भए । वडा नम्वर १ का जनप्रतिनिधिहरुले मुल समारोह समिति वडा नम्वर ६ को मात्रै हुँदा आफुहरु उत्साहजनक रुपमा महोत्सवमा सहभागी हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

विपक्षीले यसरी बनाए असफल पार्ने योजना
महोत्सवको मितिभन्दा केहिदिन अघिसम्म कालिञ्चोक क्षेत्रमा गोठ पुर्याएका करिव डेढ दर्जन चौँरीपालक किसान र स्थानीय व्यवसायीले महोत्सवलाई पुर्ण सहयोग गर्ने बचन दिएका थिए । उनीहरुकै नेतृत्वमा महोत्सव व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु पनि गठन भए । तर जब एमाले बाहेकका राजनितिक दलहरुले आफुहरुसँग समन्वय अभावको महसुस गरे त्यसपछि उनीहरुले महोत्सव असफल पार्ने योजना बनाए ।
महोत्सवको अघिल्लो दिन उनीहरुले आफु निकटका चौरीपालक किसानहरुलाई महोत्सव वहिस्कारको घोषणा नै गर्न लगाएका थिए । अन्तिम समयमा एमाले बाहेक राजनितिक दल निकटका व्यवसायी र कृषकले असहयोग गरेपछि महोत्सवमा असर पर्नु स्वभाविक थियो ।

आयोजकको यस्तो छ भनाई ?
आयोजक कालिञ्चोक गाउँपालिकाका पदाधिकारीले भने विभिन्न प्रतिकुलता र कठिनाईका बावजुत महोत्सव सफल भएको दावी गरेका छन् । गाउँपालिका प्रमुख विनकुमार थामीले केही कमीकमजोरी रहनु स्वभाविक भएपनि समग्रमा महोत्सव सफल भएको र यो वर्षबाट सुरुवात मात्रै गरिएको बताए ।

“कतिपय कमीकमजोरी रह्यो होला, तर सडक, मौसमको प्रतिकुलता र अन्य प्राविधिक÷व्यवस्थापकिय कठिनाईका बीच महोत्सवको सफल सुरुवात गरियो, उनले भने वाहिर आएको नकारात्मक प्रचार र आरोप केवल आरोपका लागि मात्रै हो ।”
“चौरी महोत्सव गरेर पर्यटन र किसानमैत्री कार्यक्रम घोषणा गर्दा असहयोग र नकारात्मक प्रचार हुनुजस्तो दुखद के हुन्छ, प्रश्न गर्दै उनले भने सकारात्मक सल्लाहा र आलोचना मनन् गर्न तयार छौँ तर गतल नियतको प्रचारप्रति केही भन्नु छैन ।”

VIEWS: 347