आगामी निर्वाचनमा विद्युतिय मेसिनबाट भोट हाल्न पाईएला ? सुरु भयो छलफल

Monday, August 7th, 2017 |

२३ साउन, काठमाडौं । आगामी भदौ १ गतेभित्र प्रादेशिक र संघीय चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारलाई पुनआग्रह गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगका अधिकारीहरुले भदौ १ गते भित्रै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका हुन् । आयोगले दुईवटै निर्वाचन एकै चरणमा गर्नुपर्ने अवस्था आए विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नु पर्ने कुरा पनि सुझाएको छ । यस्तै चुनावका लागि आवश्यक ऐन कानुन पारित गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै ल्याउने वातावरण बनाउन पनि उनीहरुले आग्रह गरेका छन् । वाँकी दुई निर्वाचनको मिति जतिसक्दो छिटो घोषणा गर्न आग्रह गरिएको निर्वाचन आयुक्त नरेन्द्र दाहाल जानकारी दिए ।

आयोगका अधिकारीहरुले मंसिर पहिलो साता या ढिलोमा दोस्रो साताभित्र दुबै निर्वाचन गरिसक्नु पर्नेमा जोड दिएका छन् । जवाफमा प्रधानमन्त्री देउवाले निर्वाचनका लागि आवश्यक ऐन कानुन र प्रतिवेदन छिट्टै आउने बताएका छन् । देउवाले समयपनि कम भएको र खर्च पनि कम हुने भन्दै संसद र प्रदेशको दुबै चुनाव एकै चरणमा गर्न प्रस्ताव गरेका थिए । उनले ऐन कानुन र प्रतिवेदन तयार हुनासाथ चुनावको मिति तोक्ने आश्वासन पनि दिएका छन् ।

भेटिङ मेसिनको विकल्पमा आयोगले भारतको विद्युतीय भोटिङ मेसिन र बेलायली स्मार्ट भोटिङ मेसिन प्रयोग गर्न सकिने प्रस्ताव गरेको छ ।

VIEWS: 134