अन्धविश्वास ः सभ्य र विकसित समाजको चुनौती

Thursday, August 3rd, 2017 |

रोलिना चौलागाई

विषय प्रवेश ः  विज्ञानले पनि प्रकृतिको सुपरनेचुरल पावरलाई स्वीकार गरेको छ । पृथ्वीमा त्यस्तो कुनै अदृश्य शक्ति छ भन्ने मान्यता राखिँदै आएको छ । एकाध त्यस्ता घटनाहरु घट्छन् जुन घटनाहरु मानिसको समझभन्दा पर छन् । जस्तैः पूर्वजन्म र पूर्नजन्म, केही शाश्वत् भविष्यवाणी, आँखाबाट कोईला निस्कने, चामत्कारिक बच्चाहरु जन्मने आदि…।

यी कुराहरुलाई केही स्वीकार केही अस्वीकार गर्दै वैज्ञानिकहरुले हिजोको अँध्यारो युगलाई उज्यालो बनाएका छन् । नयाँ नयाँ प्रविधि, नयाँ नयाँ खोज र आविष्कारले खाने, बस्ने, बोल्ने, हिंड्ने, देख्ने संसार र सोच्ने क्षमतामा नै परिवर्तन ल्याईसकेका छन् तर हाम्रो नेपाली समाज आज पनि धामीझाँक्री र भूतप्रेतमा विश्वास राख्छ । पढेलेखेका शिक्षित र सभ्य मानिने वर्ग पनि बोक्सी हुने कुरामा विश्वास राख्दै आफ्ना छिमेकीलाई मलमूत्र खुवाउने मात्र होइन ज्यानै लिन पनि पछि परेका छैनन् । साँझ बिहान हिँड्दा भूत लाग्ने र तर्साउने कुरामा विश्वास राखिन्छ ।

अकालमा मरेको मानिसको आत्मा शान्त नहुने, मोक्ष नपाउने र जिउँदा र कमजोर मानिसलाई दुःख दिने काल्पनिक र अदृश्य कुराहरुलाई अघि सारेर मानिसहरुलाई भयभित बनाइन्छ । एकातिर सरकार मुलुकका हरेक जिल्लालाई शिक्षित बनाएर चेतनाको स्तरमा वृद्धि गराउने उद्देश्यले साक्षरता जिल्ला घोषणा गर्दै सडकछेऊ ठूल्ठूला होडिङ बोर्ड लगाईरहेको छ भने अर्कोतिर शिक्षित भनिएकै व्यक्तिहरु अप्रमाणित कुराको पछि लागेर पछिल्लो पुस्तालाई अझ अँध्यारोतिर धकेलिरहेका छन् ।

योग, ध्यान र तपस्याबाट मानिस ज्ञानी, स्वस्थ र शान्त बन्ने कुरालाई नकार्न सकिन्न । केही धर्मका प्रवद्र्धक वा अनुयायीहरुले तपस्याबाट प्राप्त शक्ति देखाइसकेका छन् । यसलाई पनि कुनै दैवीशक्तिभन्दा एकाग्रताबाट प्राप्त शक्तिका रुपमा लिन सकिन्छ । यस कुरालाई आजभन्दा पच्चीस सय वर्ष अघि नै सिद्धार्थ गौतमले आफूलाई ‘गौतम बुद्ध’ बनाएर प्रमाणित गरिसकेका छन् । हिन्दुधर्मका वेदमा आधारित भएर ऋषिमुनिहरुले तपस्या र प्रयोगबाट आयुर्वेदको विकास गरेका थिए तर यसलाई पनि अहिले आएर उनीहरुको खोज वैज्ञानिकतामा जोडिन्छ । अन्य धर्मका प्रवद्र्धकहरुले पनि केही त्यस्ता असम्भाव्य कामहरु गरेका होलान् उनीहरुमा पनि केही चामत्कारिक विशेषता भएर नै धर्मको जन्म भएको हुन सक्छ ।

भनिन्छ, एकजना पुराना विद्वान नास्त्रेदमसले विश्वमा घट्न सक्ने केही भयावह घटनाहरुको बारेमा पहिले नै भविष्यवाणी गरेका थिए र कालान्तरमा उनको भविष्यवाणी सत्य सावित भयो । अभैmपनि उनका केही भविष्यवाणी बाँकी रहेको र पुरा हुन सक्ने अड्कल पनि काटिन्छन् । यदि त्यसो हो भने उनलाई पनि एक असाधारण मानिस मान्न सकिन्छ । तर हिजोआज भविष्यवाणी मात्र होइन, गाउँ र शहरका कुना–कुनामा आफूमा देवता चढेको मान्ने मानिसहरुको जमात् बढिरहेको छ । उनीहरु काम्ने, छोप्ने, चिच्याउने र फलानो भगवान् हुँ भन्ने गर्छन् । उनीहरुलाई कसैले भगवान्को रुपमा मानिरहेका छन् भने कतिले यसलाई कुनै रोगका रुपमा लिएका छन् ।

अचम्म लाग्दो कुरो यो छ कि यस्ता व्यक्ति आफू भगवान् भएको ठान्छन् र आफूलाई मनपरेको मानिस छेऊमा हुँदा शालिन व्यवहार देखाउँछन् भने मन नपर्ने मानिस नजिकिँदा अभद्र क्रियाकलाप देखाउँछन् । उनीहरुकै कुरा सुनिदेओस् र विश्वास गरिदेओस् जस्तो गर्छन् । विज्ञानले फेरि यस्ता लक्षणलाई हिस्टेरियाको नाम दिएको छ, जसबाट अहिलेसम्म पुरुषको तुलनामा महिलाहरु बढी आक्रान्त देखिन्छन् । डाक्टरहरु यस्ता रोग डाक्टरको सल्लाह र औषधी सेवनबाट निको पार्न सकिने दावी गर्दछन् भने दैवीशक्ति मान्नेहरु अस्पताल र औषधिलाई ठाडै नकार्दछन् । यस्ता घटनाहरुले नेपाली समाज झन् झन् अन्धविश्वासको शिकार त भईरहेको छैन भन्ने आशंका उब्जन्छ ।

यतिमात्र नभएर रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन आदिमा आफ्नो चमत्कारको विज्ञापन गराउनेको लर्काे एकातिर छ भने अर्काेतिर पत्रकारलाई कुनै कुरा खुलाउन नचाहने सम्प्रदायहरु पनि छन् । उनीहरुलाई जिउँदो भगवान्को संज्ञा दिएर दिनभर उनै भगवान्को नाममा निराहार व्रत बसेर लाखौं खर्च भेटी चढाउनेको भीड पनि कम छैन । आफूलाई भगवान् सावित गर्न आमजनताको सोझोपनको फाइदा उठाइरहेका जिउँदा भगवान्रुपी नायकहरुले डाक्टर र डाक्टरको ओखतीभन्दा बढी रकम असुली गरेको देख्दा भगवान् पनि पैसाको धन्दा गर्छन् र ? भन्ने प्रश्न उठ्छ ।

धर्मशास्त्रका अनुसार हामीले सुन्दै र पढ्दै आएका अदृश्य भगवान्हरु निःस्वार्थी छन् । “मलाई मात्र मान अरुलाई अस्वीकार गर” भनेका छैनन् । असुरको विरुद्धमा सशस्त्र या मौन लडाईँ लडेर सधैं समाजलाई सुसभ्य, शान्त र हिंसारहित बनाउन प्रेरित गरेका छन् । साथै नैतिक चरित्रवान्, धैर्यवान् र बुद्धिमान् बन्न सिकाएका छन् । आफूलाई जिउँदो भगवान् घोषणा गरेर धनी वा गरिब सबै भक्तजनबाट पैसा उठाएर मोटो रकम जम्मा गर्छन् । यसरी बटुलिएको रकम कहाँ जान्छ र के गरिँदै छ भन्ने कुनै पारदर्शिता पनि भेटिँदैन । कसैले खोजीनीति गर्न खोजे उसलाई अधर्मी बनाइन्छ र यसको परिणाम भोग्नुपर्ने डर देखाईन्छ । सामाजिक सञ्जालहरुमा सार्वजानिक गरिएका केही धार्मिक कुकृत्यहरुको भत्सर्नामा जुट्नु साटो अनुयायीहरुले गाली गलौजकै भाषामा अरुको चासो नगर्न अनुरोध गरिएको भेटिन्छ । साँच्चै उनीहरुसँग कुनै रहस्यात्मक शक्ति हुन्छ या नेपाली समाज भ्रममा बाँचिरहेको छ ?

छिमेकी राष्ट्र भारतका ग्रामीण क्षेत्रका नागरिकहरु पनि यस्ता चामत्कारिक कुरामा अल्झिएको देखिन्छ । केही सम्प्रदायहरुले देखिने गरी नै काम गरेको पनि देखिएको छ । साईबाबाका नामका खोलिएका विभिन्न ट्रस्टहरुबाट स्कुल, कलेज र हस्पिटल नै सञ्चालनमा आएको देखिन्छ भने योगगुरु रामदेवका पनि योग साधना र धार्मिक प्रचारका साथमा उनको कम्पनीबाट उत्पादित औषधि, खाद्य पदाथर्, कस्मेटिक आदि सामग्रीहरुको देशविदेशमा बिक्रीवितरण गरिएको देखिन्छ तर नेपालमा धार्मिक सम्प्रदायबाट त्यस्तो सकारात्मक विकास भएको देखिँदैन ।

जे होस् कसले कुन धर्म र कुन धर्मगुरुको बाटो अवलम्बन गर्छ त्यो सरोकारको विषय नभए तापनि खाई नखाई कमाएको पैसा अन्धभक्तमा लागेर नदेखिएको भविष्यको चिन्तामा बगाउनु अनुचित देखिन्छ । आफ्नो कर्मबाट पछि हटेर मनभित्रको अन्धभक्तीलाई बढवा दिएर आफूलाई कमजोर र आशावादी बनाइ रहँदा आफ्नो भविष्य दाउमा नलागोस् । विश्वासभित्रको अन्धविश्वासलाई फ्याँक्न आफूभित्रको अन्धविश्वासलाई मारेर निडरतालाई जगाउनुपर्ने देखिन्छ । नत्र विश्वका विकसित मुलुकहरुले जल, जमिन र आकाशमा राज गरिरहँदा हाम्रो समाज भूतप्रेत र भगावान्मै अल्झिरहनुले देश विकासमा पनि दखल पुग्न सक्छ ।

देशले विकासको फड्को मारेन, नेताहरुले देश डुवाए भनेर नारा लगाउनु निरर्थक हुनेछ । संसारलाई परिवर्तन गर्न आफैंलाई पहिले परिवर्तन गरेर देखाउनु आवश्यक हुन्छ । शिक्षित र सचेत वर्गले केलाई कति प्राथमिकता दिने भनेर समाजमा हावी हुने विसंगतिको न्यूनीकरणका लागि अघि बढ्नुपर्ने देखिन्छ ।

लेखक संचारकर्मी तथा शिक्षिका हुन् । 

VIEWS: 778